५ फागुन, काठमाडौं । व्यवस्थापिका संसदको पहिलो अधिवेशन बुधबारदेखि अन्त्य भएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गर्न संसद सचिवालयमा पत्र पठाएपछि विधिवत रुपमा पहिलो अधिवेशन बुधबार राति १० बजे बाट अन्त्य भएको हो ।
संविधानको धारा २९९ को उपधारा ६ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा व्यवस्थापिका संसद सचिवालयलाई अधिवेशन अन्त्यका लागि पत्र पठाएकी थिइन् । राष्ट्रपतिले पठाएको पत्रलाई सभामुख ओनसरी घर्ती मगरले पढेर सुनाउँदै औपचारिक रुपमा अधिवेशन अन्त्य को घोषणा गरेकी हुन् ।
अधिवेशन अन्त्यको पत्र पढेर सुनाउनु अघि सभामुखले अधिवेशनमा भएका गतिविधिको सदनलाई संक्षिप्त जानकारी गराएकी थिइन् ।
२०७२ असोज १५ गते शुक्रबार सुरु भएको संसदको पहिलो अधिवेशन फागुन ५ गते सम्म आईपुग्दा जम्मा १३९ दिन चालु रह्योे । संसद बैठक चलेका ४१ दिनमा ४४ पटक बसेको बैठक जम्मा ३७ घण्टा १५ मिनेट खास काममा चलेकोे व्यवस्थापिका संसद सचिवालयले जनाएको छ । यस अधिवेशनमा ७ वटा सरकारी र एउटा गैह्सरकारी विधेयक दर्ता भएकोमा २ वटा विधेयकलाई संसदले सम्बन्धित समितिमा पठाएको छ भने २ वटा विधेयक सदनबाट पारित भएको छ । यस अधिवेशनले राष्ट्रपति, प्रधानमन्त्री तथा सभामुख र उपसभामुख चयन गर्यो ।
त्यसैगरी एसियाली पूर्वाधार लगानी बंैकको विधान सम्झौता र व्यापार सम्बद्ध बौद्धिक सम्पत्ति अधिकार सम्बन्धि सम्झौतमा संशोधन प्रोटोकल पनि सर्वसम्मतिले अनुमोदन गरेको थियो ।












