५ फागुन, काठमाडौं । दक्षिण एशियाली फुटबलको उपाधि जित्न सफल नेपाली फुटबल टोलीलाई पूर्वी नाका काँकडभिट्टामा भव्य स्वागत गरिएको छ । पूर्वी नाका हुँदै नेपाल आइपुगेका फुटबल खेलाडीहरुलाई त्यहाँ भव्य स्वागत गरिएको हो । झापाको भद्रपुरबाट विमानमार्फत खेलाडीहरु काठमाडौं आउँदै छन् । केही वेरमा नै खेलाडीहरु त्रिभुवन विमानस्थलमा पुग्दैछन् । खेलाडीको स्वागतका लागि त्रिभुवन विमानस्थलबाहिर सर्वसाधारणको भिड लागेको छ ।
२३ वर्षपछि दक्षिण एशियाली फुटबलको उपाधि जित्न सफल टोलीको स्वागतका लागि जिल्ला खेलकुद विकास समिति झापाको आयोजनामा नागरिक अभिनन्दनसहित स्वागत गरेको हो । जिल्ला खेलकुद विकास समितिले सबै खेलाडीलाई स्वागतसहित सम्मान गरेको हो ।

खेलाडीहरुलाई काँकडभिट्टामा स्वागत तथा सम्मानपछि नगर परिक्रमा गराइएको छ । चोक चोकमा बसेका सर्वसाधारण तथा विद्यार्थीहरुले खेलाडीलाई स्वागत गरेका छन् । काँकडभिट्टाबाट धुलाबारी, चारआली, विर्तामोड हुँदै खेलाडीलाई विजय र्यालीसहित भद्रपुर विमानस्थलसम्म पुर्याइएको छ ।












