४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख १२ गतेको महाभूकम्पले भत्किएको धरहरा पुनर्निर्माणका लागि आफ्नो एक महिनाको तलब दिने घोषणा गरेका छन् ।
सुन्धारास्थित धरहरा क्षेत्रमा मंगलबार भएको ‘ऐतिहासिक धरोहर पुनर्निर्माण संकल्प’मा सम्बोधन गर्दै प्रधानमन्त्रीले एक महिनाको आफ्नो तलब दिंदै त्यही धरहरा निर्माणका लागि सहयोग जुटाउने खाता खोल्न निर्माण समितिलाई आग्रह गरे। ‘धरहरासहित पुरातात्त्विक सम्पदा पुनर्निर्माण नेपालीकै पैसामा हुनेछ,’ प्रधानमन्त्रीले भने, ‘भोलि नै खाता खोल्नुस्, मेरो एक महिनाको तलब म जम्मा गरिदिन्छु ।’
‘आफ्नै सम्पदा, आफ्नै सम्पत्ति, आफैं निर्माण’ भन्ने नाराससहित सम्पदा पुनर्निर्माण अभियान सुरुवात गरिएको हो ।
प्रधानमन्त्रीले धरहरामा सबै नेपालीको लगानी हुने र सबै मृतकको नाम राखिने जानकारी दिए । उनले धरहरा क्षेत्रमा भूकम्पको स्मारक पनि बनाइने जानकारी दिए । ‘अब धरहरा झन् अग्लो र आधुनिक बन्छ,’ उनले भने, ‘भूकम्प प्रतिरोधी बनाइनेछ ।’
प्रधानमन्त्रीले सम्पदा पुनर्निर्माणमा सरकारको र विदेशीको मुख ताक्न नहुने बताए । ‘धरहरासहित सबै सम्पदाहरु आफ्नै डिजाइनमा, नेपालीकै लगानीमा बन्नेछन्,’ उनले भने ।
प्रधानमन्त्रीले ऐतिहासिक सम्पदाले सवै जाति, धर्म, भाषा र सम्प्रदायको प्रतिनिधित्व गर्ने भन्दै यसले राष्ट्रिय एकता पनि बलियो बनाउने उल्लेख गरे ।
कार्यक्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित मन्त्रीहरु, सरकारी उच्च अधिकारी, पुनर्निर्माण प्राधिकरणका अधिकारीहरुको उपस्थिति थियो ।












