२६ माघ, काठमाडौं । नेपाली काँग्रेसले फागुन २० गतेदेखि २३ गतेसम्मका लागि तय गरिएको १३ औं महाधिवशन निर्धारित मितिमा नै हुने बताएको छ । आफ्ना सभापति सुशिल कोइरालाको निधनका बाबजुद समेत महाधिवेशनको निर्धारित मूल मिति नसार्ने निर्णय कांग्रेसले गरेको हो ।
काँग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरी संवैधानिक वाध्यताका कारण महाधिवेशन निर्धारित मितिमा नै हुने बताएको हो । यद्यपि, समितिले महाधिवेशन अन्र्तगत हाल जारी सबै कार्यक्रम स्थगित गरेको छ । निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले पार्टी सभापतिको निधनले ठूलो झट्का लागेको भन्दै माघ मसान्तसम्मका लागि महाधिवेशन अन्र्तगतका सबै कार्यक्रम स्थगित गरिएको बताए । उनले फागुन १ गतेदेखि महाधिवेशनसम्बन्धि प्रक्रिया सुरु हुने बताए ।
काँग्रेसको १३ औं महाधिवेशन अन्र्तगत सोमबार जिल्ला अधिवेशन सुरु भएको थियो । कतिपय जिल्लामा अधिवेशन सम्पन्न भएपनि कतिपय जिल्लामा नयाँ नेतृत्व चयनका लागि मंगलबार निर्वाचनको कार्यक्रम थियो । यस्तै कतिपय जिल्लामा गाउँ, नगर र क्षेत्रको निर्वाचन समेत गर्न बाँकी छ ।












