१९ माघ, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको सचिवालयले आन्दोलन मोर्चाको नियन्त्रण वाहिर गएको निष्कर्ष निकाल्दै नियन्त्रणमा राख्न नयाँ योजना अघि सारेको छ । आन्दोलनको सम्पूर्ण जस मधेसी मोर्चाले मात्रै लिने उद्देश्यसहित आफ्नो नियन्त्रणबाहिर जान नदिनका लागि मधेशका सबै जिल्लामा आन्दोलन परिषद् बनाउन सचिवालयले सुझाव दिएको छ ।
मोर्चाको सचिवालयको तीन दिनसम्म तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेको बैठकले मोर्चाको घटक दलका जिल्लास्थित केन्द्रीय सदस्य र जिल्लास्तरीय पदाधिकारीलाई सामेल गरी आन्दोलन परिषद् बनाउन सुझाव दिने निर्णय गरेको हो । दोस्रो तहका नेताहरु सम्मिलित सचिवालयको बैठकले जिल्लास्थित आन्दोलन परिचालन समितिमा हाल घटक दलका अध्यक्ष मात्र रहेका कारण आन्दोलन सशक्त नभएको बरु नियन्त्रणवाहिर गएको निष्कर्ष निकाली परिषद् बनाउन सुझाव दिइएको तराई मधेश लोकतान्त्रिक पार्टीका महामन्त्री गोविन्द चौधरीले जानकारी दिए ।
शीर्ष नेताहरुको बैठकका लागि एजेण्डा तय गर्न बसेको सचिवालयको बैठकले आन्दोलनका क्रममा घाइते भएकाहरुको विवरण संकलन गर्ने निर्णय पनि गरेको छ । मधेसी मोर्चाका शीर्ष नेताहरु भने विहारी नेता लालु यादव लगायतका अन्य नेतासँगको भेटघाटमा विहारमा छन् ।











