१७ माघ, जुम्ला। सदरमुकाम खलङ्गामा गस्तीमा हिँडेको प्रहरी माथि गोली प्रहार भएको छ । विमानस्थल नजिकैको ठिन्के भन्ने स्थानमा हिजो राती गस्तीमा गएको प्रहरीमाथि गोली प्रहार हुँदा प्रहरी जवान दीपक रोकाया घाइते भएका घाइते रोकायाको हातसहित पेटमा गोली लागेको प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिए ।
उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ । घाइतेको अवस्था खतरामुक्त रहेको प्रतिष्ठान जुम्लाले जनाएको छ ।
नायब उपरीक्षक कोइरालाका अनुसार सो घटनामा एकजनालाई अटोमेटिक पेस्तोलसहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । राति ८ बजेतिर गोली चलेको थियो । गोली कसले चलाएको भन्नेबारेमा थप अनुसन्धान भइरहेकाले अहिले नै भन्न नसकिने प्रहरीले बताएको छ । रासस












