१५ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिणी सिमानामा कसैले अवरोध नगर्दा पनि आपूर्तिमा असहज भएको बताउँदै अब त्यो खुल्ने अवस्थामा पुगेको र छिट्टै खुल्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै ओलीले अब चाहिँ नाका अवरोध नरहने दावी गरे ।
कम्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घले शुक्रबार काठमाडौमा आयोजना गरेको ‘सुबिसु क्यान सूचना प्रविधि–२०१६’ को उद्घाटनका क्रममा उनले मुलकलाई अब आधुनिक बनाउन आवश्यक भइसकेको र त्यसका लागि सूचना प्रविधिको महत्वपूर्ण भूमिका रहने बताए । सूचना प्रविधि मेलाको २२औँ संस्करण उद्घाटनको उक्त समारोहमा प्रधानमन्त्री ओलीले विश्वमा हासिल भएका नयाँनयाँ ज्ञान सीपका आधारमा विकासलाई उन्नत र व्यवस्थित बनाउन सकिने बताउँदै त्यसको प्रयोगमा नै हाम्रो विकासको गति निर्भर हुने बताए । मुलुक अब परम्परागत रुपमा अघि बढ्न नसक्ने बताउँदै उनले सरकारले सूचना प्रविधिलाई प्राथमिकतामा राखेर भरपुर प्रयोग गर्ने र अब विद्युतीय सरकारको अवधारणाअनुसार सरकारका सेवा प्रदान गरिनेमा जोड दिए ।












