१४ माघ, काठमाडौं । सत्तारुढ दल एकीकृत माओवादीले सरकारका कामकारवाहीप्रति असन्तुष्टी जनाउँदै प्रधानमन्त्री केपी ओलीसँग गम्भीर छलफल गर्ने निर्णय गरेको छ । कांग्रेस नेतृत्वमा एमाओवादी र मधेसकेन्द्रित दलको सरकार बन्ने बहस सुरु भएको सन्दर्भमा एमाओवादीले एमाले नेतृत्वको सरकारप्रति औपचारिक रुपमै असन्तोष व्यक्त गरेको हो ।
पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु समेतको उपस्थितिमा तीन दिनसम्म बसेको एमाओवादीको स्थायी समितिको बैठकले सरकारको काम प्रभावकारी र परिणाममुखी नभएको निष्कर्ष निकालेको हो । बैठकले सरकारका कामकारवाही प्रभावकारी नभएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग गम्भिर छलफल गर्ने निर्णय गर्दै छलफलको जिम्मेवारी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लाई सुम्पिएको छ ।
बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुको काम समेत प्रभावकारी र परिणाममुखी नभएको निष्कर्ष निकालेको छ । सरकारमा एमाओवादीका ८ जना मन्त्री छन् । गृह, शिक्षा, उर्जा, सिंचाइ जस्ता महत्वपूर्ण मन्त्रालय सम्हालेपनि परिणाम देखिने काम नभएको तथा महत्वपूर्ण मन्त्रालय सम्हाल्नुको औचित्य पुष्टि नभएको भन्दै बैठकले आवधिक योजना बनाएर काम गर्न आफ्ना मन्त्रीहरुलाई निर्देशन दिएको छ ।
बैठकले पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकार संचालन समन्वय तथा सहयोग समितिको संयोजक पदबाट दिएको राजीनामा अस्वीकृत गरेको छ । पार्टी उपाध्यक्ष श्रेष्ठले मन्त्रीहरुले आफूलाई अटेर गरेर जथाभावीरुपमा काम गरेको भन्दै बुधबारको बैठकमा राजिनामा दिएका थिए । मन्त्रीहरुले पनि श्रेष्ठले अनावश्यक हस्तक्षेप गरेको भन्दै बैठकमा कडा आलोचना गरेका थिए ।












