११ माघ, मोरङ । मोरङको रंगेली घटनाका मृतकहरुको आज शव यात्रा गरिएको छ । शव यात्रामा मधेसकेन्द्रित दलका कार्यकर्तासहित हजारौं मानिस सहभागी भएका छन् । मोर्चाका शीर्ष नेताहरु राजेन्द्र महतो, उपेन्द्र यादव, सवेन्द्रनाथ शुक्ला लगायत सहभागी भएका छन् ।

आइतबार स्थानीय प्रशासन र मधेशी मोर्चाबीच सहमति भएपछि सोमवार शवयात्रा निकालिएको हो । जिल्ला प्रशासन कार्यालय मोरङ्गमा आइतबार मधेसी मोर्चाका नेताहरुसहित बसेको सर्वदलीय बैठकमा मृत्यु भएका तीनै जनाको शव मोर्चाले बुझ्ने लिखित सहमति भएको थियो ।

मृतकको शव यात्रापछि आजै अन्त्येष्टि गरिएको छ । मृतकहरुको धार्मिक परम्पराअनुसार अन्तिम संस्कार गरिएको छ ।











