९ माघ, काठमाडौं । संसदमा पेश भएको संविधान संशोधन विधेयक कसरी पारित गर्ने भन्ने निर्णय हुन नसक्दा प्रमुख तीन दलसहितका पाँच दल शनिबार दिनभर छलफलमा केन्द्रित रहे । विहानको बैठकमा भाषागत कुरा मिलाएर पारित गर्ने निर्णय गरेका पाँच दल फेरि साँझ प्रधानमन्त्री निवास वालुवाटारमा छलफलमा व्यस्त रहे । प्रमुख दलको निर्णय आउन नसक्दा ३ बजेका लागि निर्धारित संसद बैठक साँझ ७ बजेसम्म पनि बस्न सकेन ।
पार्टीको व्हीप मान्दै संसद भवन नयाँ वानेश्वरमा ३ बजेदेखि भेला भएका सांसदहरु साँझसम्म वालुवाटारको निर्णय पर्खेर बसेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार विहान भएको प्रतिपक्षी दल कांग्रेससहितको प्रमुख दलहरुको बैठकले भाषाागत कुरा मिलाएर संविधान संशोधन विधेयक संसदबाट पारित गर्ने निर्णय गरेको थियो ।
मधेसी मोर्चाले उठाएका माग अधिकांश माग सम्बोधन हुने गरी संविधान संशोधन विधेयकमा केही भाषागत कुरा मिलाएर पास गर्ने निर्णय भएको थियो ।
बैठकमा सत्तारुढ दल एमाले, एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक र प्रमुख विपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरु निरन्तर छलफलमा लागिरहेका हुन् ।












