८ माघ, काठमाडौं । प्रमुख दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले मधेस आन्दोलन एकैपटक अन्त्य नहुने निष्कर्ष निकालेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा संविधान संशोधन गर्दै मधेस आन्दोलन मत्थर पार्ने निधोमा पुगेका छन् । मधेस मुद्धामा दु्वै दलको साझा धारणा रहेको बताउँदै समस्या समाधानमा एक भएर जाने निर्णय पनि बैठकले गरेको छ । बैठकमा सहभागी नेताका अनुसार मधेसमा दुई प्रदेशको माग कुनै हालतमा पूरा गर्न नसकिने निष्कर्ष दुवै पार्टीले निकालेका छन् ।
दुई प्रदेशसहितका केही मागमा मोर्चाको नियत लुकेको देखिएको बैठकपछि नेताहरुले जनाएका छन् । कांग्रेस–एमालेले संसदमा जारी संविधान संशोधन प्रक्रिया शनिबार नै टुंग्याउने निर्णय गर्दै अध्ययनका लागि कांग्रेसबाट महेश आचार्य, विमलेन्द्र निधि र मिनेन्द्र रिजाल तथा एमालेबाट भीम रावल, अग्नि खरेल र भानुभक्त ढकाल रहेको कार्यदल बनाइएको छ । कार्यदलले कुन संशोधनबाट मधेसका मागलाई बढी सम्बोधन हुन्छ भन्नेबारे अध्ययन गर्नेछ ।
बैठकले मधेसी मोर्चा वार्तामा रिजिड भएर प्रस्तुत भएको निष्कर्ष निकाल्दै कोर्स करेक्सनका लागि अपिल गर्ने निर्णय गरेको छ ।













