७ माघ, काठमाडौं । मोरङमा प्रहरीले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएपछि रंगेली वरपरको क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ ।
मोरङ जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय रंगेलीदेखि ५ सय मिटर पूर्व तथा पश्चिममा गोविन्दपुरको बक्राहा खोलासम्म, मालपोत कार्यालयभन्दा ५ सय मिटर उत्तर र दक्षिणमा रंगेली उर्लाबारी हुलाकी राजमार्गको ५ सय मिटर दक्षिणसम्म कर्फ्यु आदेश जारी गरेको हो ।

मोरङका एसपी तारणीप्रसाद लम्सालले कर्फ्यु आदेशपछि स्थिति सामान्य रहेको दावी गरेका छन् ।
मोरङको रंगेली र डाइनियामा भएको झडपमा परी तीन जनाको मृत्यु भएको हो ।
एमालेसम्वद्ध युवा संघको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली जाने भनेपछि रंगेलीमा तनाव सुरु भएको थियो । मधेसी मोर्चाले रंगेली क्षेत्रमा बन्द आहृवान गर्दै लगातार प्रदर्शन गरेपछि रंगेली तनावग्रस्त भएको थियो ।
बिहीबार कार्यक्रममा प्रधानमन्त्री त गएनन् । तर, एमाले महासचिव ईश्वर पोखरेल उपस्थित भएको कार्यक्रम पनि मोर्चाले विथोल्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो ।
झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर दुई महिलाको मृत्यु भएको छ । रंगेलीमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर ५८ वर्षीया द्रौपदीदेवी चौधरीको मृत्यु भएको छ । उनी रंगेली ४ की हुन् । उनको शव प्रहरीले कोशी अञ्चल अस्पतालमा राखिएको छ ।
डाइनियामा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर १८ वर्षकी चिबु माझीको मृत्यु भएको छ । यस्तै महादेव ऋषिदेवको पनि गोली लागेर रंगेलमी मृत्यु भएको छ ।
खुकुरी प्रहारबाट ५ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि गोल्डेन अस्पताल लगिएको छ ।











