६ माघ, काठमाडौं । प्रमुख तीन दलसँग कुरा मिलिसकेको मधेसी मोर्चाका एक नेताले खुलासा गरेका छन् । प्रधानमन्त्री निबास बालुवाटारमा बुधबार साँझ बसेको तीन दलको बैठकले मोर्चाका मागमा सहमति जनाएकोले कुरा मिलेको तमलोपाका महामन्त्री सर्वेन्द्रनाथ शुक्लले नेपालदेशडटकमलाई जानकारी दिए । यसअघि कार्यदलको बैठकमा प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेका कुरामा बुधबार तीन दलको बैठकमा भने ओलीले सबै स्वीकार गरिसकेको दावी शुक्लले गरे । तीन दलको बैठकको निर्णय तपाईंले कसरी थाहा पाउनुभयो भन्ने प्रश्नमा शुक्लले भने तीन दलको बैठकमा सहभागी भएका नेताहरुले टेलिफोन गरेर आफूहरुलाई जानकारी दिएका छन् ।
आफ्नो दलका अध्यक्ष महन्थ ठाकुर नयाँ दिल्लीमा भए पनि सहमतिमा समस्या नपर्ने उनले बताए । विहीबार विहान हुने शीर्ष नेताहरुको बैठकमा महत्वपूर्ण निर्णय हुने समेत उनले बताए ।
तीन दलले बिहीबार बिहान ९ बजे मधेसी मोर्चालाई वार्ताका लागि आव्हान गरको छ । यस्तै बैठकले संसदमा रहेका प्रमुख राजनीतिक दलले संसदमा पेश भएको संविधान संशोधनको विधेयकलाई माघ ९ गतेको संसदबाट पारित गर्ने सहमति भएको छ ।
संसदमा पेश भएको संविधान संशोधनको विधेयकमाथि विभिन्न दलका सांसदहरुले दर्ता गराएको संशोधन प्रस्ताव मध्ये कुनै प्रस्तावले मधेसको माग सम्बोधन गर्ने भए त्यही प्रस्तावलाई संसदबाट पारित गर्ने सहमति भएको बैठकपछि कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए । त्यस्तै एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संशोधन प्रस्तावले मात्रै नहुने भए भोलि बिहान ९ बजे मधेसी मोर्चाका नेताहरुसँग वार्ता गरी संशोधन प्रस्तावमा आवश्यक भाषा लगायतका विषय परिमार्जन गर्न आफूहरु तयार रहेको बताए ।












