५ माघ, काठमाडौं । नक्कली नागरिकता लिएको भनी आरोपित सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको नागरिकता विवरण नै फरकफरक देखिएको छ । नागरिकतासम्बन्धि दुई भिन्न विवरणका कारण उनले दुइटा नागरिकता समेत लिएको हुनसक्ने नयाँ रहस्य समेत सार्वजनिक भएको हो ।

नेपाल वान टेलिभिजनको कार्यक्रम बहस चारकोणबाट कार्यक्रमको बहसका क्रममा एमाले नेता र राजेन्द्र महतोका पार्टीका पदाधिकारीले नै महतोको नागरिकताको फरकफरक विवरण प्रस्तुत गरेका हुन् । कार्यक्रम संचालक क्रन्दन चापागाईको प्रश्नमा एमालेको भ्रातृ संगठन युवा संघका अध्यक्ष राजीव पहारी र महतोको पार्टीका सहमहासचिव देवेन्द्र यादवले दुई भिन्नभिन्न विवरण प्रस्तुत गरेका हुन् । यो तथ्यले राजेन्द्र महतोको नागरिकता विवाद झनै रहस्यमय बनेको छ ।
राजेन्द्र महतोले नागरिकता नक्कली भएको भन्दै छानविन गर्न आग्रह गरेर गृहमन्त्री शक्तिबहादुर वस्नेतलाई ज्ञापन पत्र बुझाएको युवा संघ नेपालका अध्यक्ष पहारीले वि. सं.२०२७ सालमा महतोले नेपालको नागरिकता लिएको बताएका छन् । सोही विवरण नै आफूहरुले गृह मन्त्रालयमा बुझाएको उनले बताएका छन् । महतोले आफूले जन्मसिद्ध नागरिकता २०२७ सालमा लिएको बताउँदै आएका तर २०१९ सालमा नै जन्मसिद्ध नागरिकता दिनै प्रावधान खारेज भएकोले महतोको दावी सरासर झूठो भएको पहारीले दावी गरेका छन् । महतो नेपालमा नजन्मी विहारको सितामढीको कोहरवा गाउँमा जन्मेको पनि पहारीले जिकिर गरेका छन् ।
तर महतोको पार्टीमा सहमहासचिव रहेका देवेन्द्र यादवले पहारीको दावीलाई प्रतिवाद गर्दै २०३४ सालमा राजेन्द्र महतोले नेपालको नागरिकता लिएको सोही कार्यक्रममा बताएका छन् । महतोको जन्म चन्द्रनगर हालको बबरगंजमा भएको र उनले पढाइलेखाइ सर्लाहीको कृष्णमति माविमा गरेको यादवले उल्लेख गरेका छन् ।
दुवै नेताले अघि सारेको फरकफरक विवरण कुन सही हो भनी गरिएको प्रश्नमा दुवैले आफूले प्रस्तुत गरेका विवरण नै सही भएको जिकिर गरेको कार्यक्रम संचालक क्रन्दन चापागाईले बताए ।
विवादस्पद राजेन्द्र महतोको नागरिकता लिएको मितिसम्बन्धि फरकफरक विवरण प्रस्तुत हुनुले उनको नागरिकता अझै रहस्यमय बनेको छ । तर महतोको नागरिकतासम्बन्धि विवरण माओवादी आक्रमणमा जलेर नष्ट भएको जानकारी सर्लाही जिल्ला प्रशासनले दिएको छ । यो अवस्थाले नागरिकता काण्डमा राजेन्द्र महतोको संलग्नताको रहस्य झन गहिरो बन्दै गएको देखिन्छ ।
हेर्नुहोस् भिडियो :











