४ माघ, भारत । हिन्दू राष्ट्र बनाऊँ नेपाल बचाऊँ अभियानका नेता इञ्जिनियर विष्णुप्रसाद बरालले अहिलेका राजनीतिक दल र नेताहरुले नेपाली जनताको पक्षमा काम गर्न नसक्ने बताएका छन् । भारतको देहरादूनमा भारतीय मगर समाज समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बरालले नेपाली जनतालाई विदेशिन बाध्य पार्ने राजनीतिक दल र तिनका नेतालाई नै देशबाट लखेट्नुपर्ने धारणा व्यक्त गरे ।

विदेशी शक्तिसँग रकम लिएर नेताहरुले नेपाललाई धर्म निरपेक्ष बनाएको आरोप समेत हिन्दूवादी नेता समेत रहेका बरालले लगाए । विभिन्न देशसँग श्रम सम्झौता गर्दै नेताहरुले कमिसन खाने गरेको तर स्वदेशमै रोजगारी सिर्जना गर्नेतर्फ कहिल्यै नसोचेकोले भ्रष्ट्र नेताहरुलाई देश निकाला गर्नुपर्ने टिप्पणी उनले गरे । वैदेशिक रोजगारीमा नेपालीहरुलाई विदेश पठाएर कमिसन लिने नेताहरुले नेपाली कामदारको सेवा र सुरक्षाप्रति कहिल्यै ध्यान नदिएको आरोप समेत उनले लगाए ।
हाल संसदमा रहेका राजनीतिक शक्तिहरुले कमिसन खाएर धर्म र जनतालाई विक्री गरिरहेको आरोप लगाउँदै बरालले भोलि देशको अस्तित्वमाथि नै खतरा आउने काम गर्न समेत अहिलेका दल पछि नपर्ने तर्क गरे ।

वर्तमानका स्वार्थी र भ्रष्ट्र नेताहरुलाई परास्त गर्न अब नयाँ शक्तिको आवश्यकता रहेको धारणा उनले व्यक्त गरे । नयाँ शक्तिको नेतृत्व आफूले गर्ने बताउँदै अब नेपालमा रोजगारमुखी राजनीतिको अवधारणा विकास गर्नुपर्ने भनाइ उनका थियो । नेपाललाई हिन्दू राष्ट्र घोषणा नगरेसम्म र हरेक नेपालीलाई देशभित्रै रोजगारी सिर्जना नगरेसम्म आफूले विश्राम नलिने बताए ।
नेपाललाई हिन्दू राष्ट्र बनाउनका लागि आफूले धार्मिक अभियानसहितको नयाँ दल स्थापना गर्ने समेत उनले बताए । नेपाल देवभूमि रहेको र त्यहाँका हरेक स्थानको नाम देवताका नामबाट रहेको बताउँदै उनले त्यस्तो देवभूमि धर्मनिरपेक्ष हुन नसक्ने जिकिर गरे ।
नेपाललाई हिन्दू राष्ट्र बनाउने अभियानका रुपमा आफूले स्याङ्जाको ‘मालुङ्गा’को नाम सच्याएर ‘महालिङग’ राखेको बरालले बताए । आफ्नो निर्णयमा स्याङ्जाली जनताले साथ दिएको उनको दावी थियो ।

मगर समाजद्वारा आयोजित कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम तथा सुन्दरी प्रतियोगिताको आयोजना समेत गरिएको थियो । भारतमा बसेर पनि नेपाली संस्कृतिमा योगदान पुर्याउने विभिन्न व्यक्तिहरुलाई सम्मानित गरिएको थियो ।











