४ माघ, काठमाडौ । भारतीय समाजवादी पार्टीका प्रवक्ता सुधिन्द्र भदौरियाले नेपालका दलहरुवीच भईरहेको छलफल सहमतिमा पुगे त्यसलाई भारतले स्वागत र समर्थन गर्ने बताएका छन ।
रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ नेपालको समस्या समाधान एउटै मात्रै बाटो सम्झौता हो । यो छिटो होस, यहाँका दलहरुबीच सहमति भए हामी स्वागत गर्छौ । हामी खुसी हुन्छौ ।’

साक्षात्कारमा भदौरियाले नेपालमा संविधान बन्दा नै सबैले समेट्न सकेको भए राम्रो हुन्थ्यो भन्दै ढिलै भए पनि सबैलाई समेट्ने प्रयास हुनु सकारात्मक रहेको टिप्पणी गरे ।
उनले भने, ‘संविधानमा भभएको कमि पुरा गर्ने प्रयास भईरहेको छ । अब यो छिटोहुनु पर्छ । मधेसीलाई समाहित गर्ने काम छिटो होस । आशा धेरै हुँदा पुरा हुँदैन अनि बार्ता हुन्छ । यसको निकास बार्ता बाहेक अर्को छैन ।’
भदौयिराले फागु पूर्णिमाभन्दा अघि नै सहमति गरेर सबै नेपालीले खुसीयालीपूर्वक पर्व मनाउन भन्ने कामना समेत साक्षात्कारमा व्यक्त गरे ।
नेपाल भारत एक अर्का प्रति आश्रित रहेको उल्लेख गर्दै नेपाल भारतमा देखिएको समस्या सुल्झाउन आफूहरु लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने, ‘हामी सगरमाथाबाट निस्कने नदीको पानी पिउँछौ, सिचाई गर्छौं, जीवन चलाउँछौ त्यसैले यो समस्या सुल्झाउनु पर्छ । नेपालको समस्या नेपालीले सुल्झाउनु पर्छ । नाकामा देखिएको समस्या सुल्झाएर जीवन सहज बनाउनु पर्छ भनेर हामीले पहिलादेखि नै भन्दै आएका छौ ।’











