२८ पुस, काठमाडौं । प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको संयुक्त कार्यदलको बैठक औपचारिकतामै सिमित बनेको छ । आजको बैठकमा सरकारी कार्यदलका दुई सदस्यको साटो अर्कै नेता बैठकमा आएका थिए । भीम रावलको साटो अग्नि खरेल र कृष्णबहादुर महराको साटो गृहमन्त्री शक्ति वस्नेत कार्यदलको बैठकमा पुगेका थिए ।
आजको बैठकमा मधेसी मोर्चाले राजनीतिक संयन्त्रमार्फत प्रदेशको सीमांकन हेरफेरका विषयमा प्रमुख दलका शिर्ष नेताको लिखित प्रतिबद्धता माग गरेको छ ।
मोर्चाको कार्यदलले प्रमुख तीन दलको कार्यदलसँग मंगलबार साँझ सिंहदरबारमा भएको बैठकमा शिर्ष नेताहरुको लिखित प्रतिबद्धता माग गरेको हो । मोर्चाको कार्यदलले शिर्ष नेताहरुको लिखित प्रतिबद्धता माग गरेपछि बैठक आगामी विहिवार बस्ने गरी टुंगिएको छ । वुधबार तीन दलको कार्यदलले शीर्ष नेताहरुसँग गृहकार्य गरेर विहीबार संयुक्त बैठक बस्ने निर्णय भएको नेताहरुले जानकारी दिए ।
साँढे तीन घण्टा लामो बैठक प्रमुख तीन दलले प्रस्ताव गरेको राजनीतिक संयन्त्रको कार्यक्षेत्र र वैधानिकताका विषयमा केन्द्रीत भएको थियो । दुवै पक्षका नेताहरुले धेरै विषयमा आफूहरु नजिक आएको भन्दै सहमतिमा पुग्नुपहिले शिर्ष नेताहरुसँग छलफल आवश्यक भएको बताएका छन् ।
प्रमुख तीन दलको कार्यदलले मोर्चाको माग अनुसार समानुपातिक÷समावेशी प्रतिनिधित्व र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने बताएका कारण मोर्चा राजनीतिक संयन्त्रबाट सीमांकन हेरफेर गर्न सहमत भइसकेको छ । उसले राजनीतिक संयन्त्रको सिफारिस अनुसार सीमांकन हेरफेर हुन्छ भन्ने कुराको सुनिश्चितता खोजिरहेको छ ।











