२७ पुस, काठमाडौं । आन्दोलनरत मधेसी मोर्चाका मागलाई सम्बोधन गर्दै सहमतिलाई अन्तिम टुंगो लगाउने तयारी भैरहेका बेला प्रमुख तीन दलको कार्यदलले मधेसी मोर्चाको कार्यदललाई झुक्याएको छ । आज एक बजे कार्यदलको संयुक्त बैठक बस्ने निर्धारण गरिएको भए पनि सरकारी कार्यदलले बेवास्ता गरेका कारण वार्ता नै भाँडिने हो कि भन्ने आशंका उब्जिएको छ ।
आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आवद्ध र संविधान निर्माण नेतृत्वकर्ता प्रमुख तीन दलको कार्यदलको संयुक्त बैठक सोमबार साँझसम्म पनि बस्न सकेन ।
प्रमुख तीन दलले खबर गरे पछि बस्ने भनिए पनि जानकारी नआएकाले सोमबार बैठक बस्न नसकेको जानकारी र्मार्चा आबद्ध दल तमसपाका वरिष्ठ नेता रामनरेश रायले दिए। आज एक बजे बैठक बस्ने सहमति भएकोले आफूहरुले दिनभर तमलोपाको पार्टी कार्यालयमा सरकारी कार्यदलको निमन्त्रणा पर्खेर बसेको तर साँझसम्म पनि खबर नआएको रायले नेपालदेश डटकमलाई बताए ।

प्रमुख तीन दलका कार्यदलको खबर आउने प्रतिक्षामा मोर्चाका कार्यदल सदस्य दिनभर पर्खेर बसेका थिए ।
राजनीतिक समिति गठन गरी सीमाङकन टुंग्याउने तीन दलको प्रस्तावमा पछिल्लो समय मोर्चा सकारात्मक भए पनि त्यसको ग्यारेन्टीको माग गरेको छ । तराई–मधेसमा दुई प्रदेश बनाउनु पर्ने बिषयमा प्रमुख दल सहमत भए राजनीतिक समिति स्विकार्य भएको मोर्चाले जनाउँदै आएको छ । तर, प्रमुख तीन दलले दुई प्रदेशको प्रत्याभूति दिन नसक्ने जनाउँदै आएको छ ।











