२५ पुस, काठमाडौं । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चाका सबै माग पूरा नहुने बताएका छन् । शनिबार दाङ पुगेका प्रचण्डले मोर्चाका जायज माग छिट्टै पूरा हुने र नाकाबन्दी खुल्ने बताए । मधेसमा आन्दोलनरत पक्षका औचित्यपूर्ण मागहरुमा सहमति नजिक पुगिसकेको उनले जानरकारी दिए ।

अब चाँडै नाका सहज हुने र त्यसका लागि प्रभावकारी पहल भइरहेको पनि बताए । प्रदेश नं. ५ का एमाओवादी अगुवा कार्यकर्ताहरुको भेलामा सम्बोधन गर्न शनिबार दाङ आएका उनले नाका खुलाउनका लागि आफ्नो पार्टीले पहल गरिरहेको दावी गरे ।
नाका सहज बनाउन देशभित्रै समाधान खोज्ने क्रममा ढिला भएको भन्दै उनले अब मधेसी मोर्चासँग केही दिनमै सहमति हुने र नाका सहज हुने विश्वास दिलाए ।
सरकारको नेतृत्वमा जो भएपछि सरकार सञ्चालनको नेतृत्व एमाओवादीले गरिरहेको भन्दै प्रचण्डले अब देश, मधेसको समस्या सुल्झाउने मुख्य जिम्मेवारी पनि एमाओवादीकै रहेको धारणा उनले व्यक्त गरे ।











