२४ पुस, काठमाडौं । प्रश्नपत्र विक्री गर्ने कलेजका संचालकलाई प्रधानमन्त्री केपी ओलीको ठाडो निर्देशनमा क्रिकेट संघ क्यानको अध्यक्ष बनाइएको छ । ओलीको निर्देशनमा राष्ट्रिय खेलकुद परिषद राखेपले गोल्डेन गेट कलेजका संचालक रमेश सिलवालको नेतृत्वमा नेपाल क्रिकेट संघ क्यानको १५ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

विवादका बीच सम्पन्न भएको क्यानको साधारणसभालाई मान्यता नदिएको राखेपले शुक्रबार तदर्थ समिथि बनाएको हो । तदर्थ समितिको महासचिवमा पवन अग्रवाल छन् ।
अध्यक्ष बनेका सिलवाल एमालेसम्बद्ध मदन भण्डारी स्पोट्र्स एकेडेमीका अध्यक्ष एवं गोल्डेन गेट कलेजका सञ्चालक समेत हुन् । गोल्डेन गेट कलेजबाट एक वर्षअघि चिकित्सा शास्त्रको इन्ट्रान्स परीक्षाको प्रश्नपत्र विक्री गरेको पाइएको थियो । सो कलेजका अर्का संचालकलाई अख्तियारले रंगेहात पक्राउ गरेको थियो । यस्तो विवादस्पद कलेजका संचालक सिलवाललाई क्रिकेट संघको अध्यक्ष बनाएपछि संघमा झनै विवाद चर्किएको छ । सिलवाल प्रधानमन्त्री ओलीको निकट व्यक्ति हुन् ।
राखेपले यसअघि २०७१ कात्तिक २० गते विनयराज पाण्डेको नेतृत्वमा तदर्थ समिति बनाउँदा पनि शिलवाल महासचिव थिए । तर, सर्वोच्च अदालतले मान्यता नदिएपछि यो समिति सक्रिय नै हुन पाएन ।
तत्कालीन अध्यक्ष टंक आङबुहाङ सहितको समूहले बहिस्कार गरेको साधारण सभाले चतुरबहादुर चन्दको अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको थियो । तर, राखेपले यसलाई मान्यता नदिएर क्रिकेट संघको सम्पूर्ण अधिकार कार्यकारी अधिकृत भावना घिमिरेलाई दिएको छ ।











