२३ पुस, काठमाडौं । तराईमा आन्दोलनरत् संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका मागबारे छलफल गर्न गठित प्रमुख तीन दल र मोर्चाको कार्यदलबीच विहीबार सिंहदरबारमा बुँदागत छलफल सुरु भएको छ ।
दुवै कार्यदलका बीचमा मोर्चाका ११ बुँदे मागबारे बुँदागत छलफल सुरु भएको कार्यदलमा नेपाली कांग्रेसका तर्फबाट सदस्य रहेका महेश आचार्यले बैठकपछि जानकारी दिए ।
दुवै कार्यदलमा रहेका सदस्यले विहीबारको बैठकमा भएका प्रगति र उपलब्धिबारे आफ्ना पार्टीका शीर्ष नेतृत्वलाई जानकारी गराई अर्काे बैठकमा थप कुरा गर्ने सहमति भएको छ । कार्यदलका सदस्य आचार्यले बैठक सकारात्मक रुपमा निष्कर्ष उन्मुख भएको जानकारी दिए । मोर्चाका मागहरुमध्ये प्रदेशको सीमांकनको विषयलाई राजनीतिक समिति बनाई समाधान खोज्नेतर्फ संवाद भइरहेको उनले बताए ।
तर, बैठकमा सहभागी तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष एवं कार्यदलका सदस्य हृदयेश त्रिपाठीले राजनीतिक समितिको कार्यादेश के हुने ? उसको विश्वसनीयता र वैधानिकता के रहने ? भन्ने प्रश्न जीवित रहेको बताए ।
बैठकमा प्रमुख तीन दलका तर्फबाट नेकपा एमालेका उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री भीम रावल, एकीकृत नेकपा माओवादी महासचिव कृष्णबहादुर महरा र नेपाली कांग्रेसका नेता आचार्य सहभागी थिए ।
यस्तै, मोर्चाका तर्फबाट कार्यदलमा रहेका तमलोपाका उपाध्यक्ष त्रिपाठी, संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ र तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय सहभागी थिए ।











