२३ पुस, काठमाडौं । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले १२ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । उद्योगमन्त्री पाण्डेले विहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, कम्पनी ऐन र नेपाल गुणस्तर प्रमाण चिन्ह ऐन संशोधन लगायतको प्रतिबद्धता जनाएका हुन् । ती विधेयकहरु फागुन मसान्तभित्र मन्त्रीपरिषद्मा लैजाने प्रतिबद्धता उनले जनाए । उनले वीरगञ्ज चिनी कारखाना, बुटवल धागो कारखाना लगायतका बन्द अवस्थामा रहेका सरकारी संस्थान संचालनमा ल्याउने, फागुन महिनाभित्र दोलखा जिल्लामा प्राकृतिक ग्यासको विस्तृत सम्भाव्यता अध्ययनको काम सुरु गर्ने तथा रामेछापको ठोसे र ललितपुरको फुलचोकीस्थित फलाम खानीबाट उत्पादन सुरु गर्ने बताए । उनले सात वटै प्रदेशमा एक हजार विगाहाभन्दा बढी क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना गरिने र त्यसका लागि जग्गा प्राप्त गर्ने काम यसै वर्षभित्र सुरु गर्ने बताए ।

नेपालमा हाल ११ वटा औद्योगिक क्षेत्र छन् । ती औद्योगिक क्षेत्रले करिब ६ हजार रोपनी क्षेत्रफल ओगटेका छन् । २०२७ सालयता यता औद्योगिक क्षेत्र स्थापना भएका छैनन् । उद्योगमन्त्री पाण्डेको प्रतिबद्धता पत्रमा निजी क्षेत्रका उद्योगहरुको प्रवद्र्धनका लागि पहुँच सडक निर्माण र विद्युत प्रसारण लाइन तथा सव स्टेशन निर्माण सम्बन्धमा यसै वर्षभित्र छुट्टै मापदण्ड तयार पारिने उल्लेख छ ।











