२३ पुस, काठमाडौं । जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने प्रस्तावसहित संविधानको पहिलो संशोधन विधेयकमाथि तीन वटा संशोधन प्रस्ताव दर्ता गराएको छ । काँग्रसले विहीवार अपरान्ह संशोधन विधेयकमाथि तीन वटा संशोधन प्रस्ताव दर्ता गराएको हो । काँग्रेसका तर्फबाट फरमुल्लाह मन्सुर, विमलेन्द्र निधि र डा. मिनेन्द्र रिजालले अलग अलग संशोधन प्रस्ताव दर्ता गराएका छन् ।
मन्सुरसहित ३८ जना सांसद्ले समानुपातिक÷समावेशी प्रतिनिधित्व सम्बन्धमा, निधि र रिजालले निर्वाचन क्षेत्र निर्धारण सम्बन्धमा संशोधन प्रस्ताव दर्ता गराउनुभएको हो । निधिको प्रस्तावमा जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न माग गरिएको छ भने डा. रिजालले प्रदेशलाई आधार मानी एक जिल्लामा एउटा निर्वाचन क्षेत्र रहने गरी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न प्रस्ताव गरेका छन् ।

निधिको प्रस्तावमा ३० जना तथा डा. रिजालको प्रस्तावमा ९ जना सांसद्ले समर्थन जनाएका छन् । संशोधन प्रस्ताव दर्तापछि संचारकर्मीसँग कुरा गर्दै निधिले प्रमुख दल र मोर्चाबीचको वार्ता सकारात्मक रुपमा अगाडि बढिरहे पनि संशोधनको समय बाँकी नरहेकाले आफूहरुले पार्टीको नेतृत्व र आन्दोलनरत दलका नेताहरुसँग छलफल गरेर संशोधन प्रस्ताव दर्ता गराएको बताए । मधेसी दलसँग जुन विषयमा सहमति हुन्छ त्यही प्रक्रिया अगाडि बढाउने भन्दै रिजार र निधिको नाममा कांग्रेसले एकै विषयका दुई प्रस्ताव दर्ता गराएको हो । दुई प्रस्तावमा केही भिन्नता रहेको छ ।
संशोधन प्रस्ताव दर्ता गराउनुअघि मधेशका जिल्लाबाट प्रतिनिधित्व गर्ने काँग्रेसका सांसद्हरुको बैठक बसेको थियो । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा अधिकांश सांसद् उपस्थित थिए ।
त्यस्तै नेपाल मजदूर किसान पार्टीका प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल र मीना पुन, नेपाली जनता दलका हरिचरण साह, खम्बुवान राष्ट्रिय मोर्चाका रामकुमार राई लगायतका सांसद्ले पनि संशोधन प्रस्ताव दर्ता गराएका छन् । संशोधन प्रस्ताव दर्ताका लागि विहीवार अपरान्ह २ बजेसम्मको समय तोकिएकामा संसद् सचिवालयले ३ घण्टा बढाएर अपरान्ह ५ बजेसम्मको समय दिएको थियो ।











