२१ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कीर्तिमानी विश्व पर्वतारोही एवम् धावक सञ्जय पण्डितलाई राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित कार्यक्रममा सम्मान गरेकी छन् ।
विश्वका हिमालहरुका आरोहणबाट नेपाललाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेबापत उनलाई सम्मान गरिएको हो । आरोही पण्डित हालै अफ्रिकाको सर्वोच्च शिखर किलोमान्जारो २५ घन्टा ४० मिनेटमा उल्टो हिँडेर तथा सोही शिखरको आधार शिविर मरान्गुदेखि चुचुरासम्म नेपाली राष्ट्रिय पोसाक दौरा सुरुवाल, ढाकाटोपी लगाएर आरोहण गर्न सफल भएका थिए ।

सो अवसरमा राष्ट्रपति भण्डारीले सोही देशको किलोमान्जारो राष्ट्रिय निकुञ्जले प्रदान गरेको कीर्तिमानी प्रमाणपत्र आरोही पण्डितलाई हस्तान्तरण गरेकी थिइन् ।
यसैगरी राष्ट्रपतिलाई आरोही पण्डितले आफूले सो हिमालमा फरफराएको राष्ट्रिय झन्डा हस्तान्तरण गरे । सो झन्डा प्रधानमन्त्री केपी शर्मा ओलीले पण्डितलाई आरोहरण गर्न त्यसतर्फ जानुअघि फरफराउनका लागि हस्तान्तरण गरेका थिए ।
सो अवसरमा राष्ट्रपति भण्डारीले हिमाल आरोहणको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउन आरोही पण्डितले महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा धन्यवाद दिइन् । उनले भनिन्, ‘यस्ता प्रतिभालाई सबैले सम्मान र आदर गर्नुपर्छ ।’
पण्डितले गत वर्ष अस्ट्रेलियाको सर्वोच्च शिखर कोजियसको पनि उल्टो हिँडेर आरोहण गरी कीर्तिमान कायम गरेका थिए ।आरोही पण्डित उल्टो हिँडेर शिखर आरोहण गर्ने पर्वतारोहीका रुपमा परिचित छन् । कीर्तिमानी पर्वतारोही पण्डितले सगरमाथाको सफल आरोहण गरिसकेका छन् । उनले आठ हजार मिटर माथिका हिमाल मनाश्लु, दक्षिण अफ्रिकाको उच्च शिखर किलोमान्जारो, युरोपको उच्च शिखर एलबुरस, अस्ट्रेलियाको उच्च शिखर कोजियस्को, अमेरिकाको उच्च शिखर एकन्कागुवा तथा जापानको उच्च शिखर फुजी जस्ता उच्च हिमशृङ्खलालाई चुमिसकेका छन् ।

विश्वका ६ महादेशका सर्वोच्च शिखर चुमिसकेका पण्डितले यसै वर्ष अन्टार्टिकाको माउन्ट भिन्सन आरोहण गर्ने तयारीसमेत गरिरहेका छन् । गत कात्तिकमा राष्ट्रिय खेलकुद परिषद्ले उनलाई ‘पर्वतीय साहसिक खेलकुद राष्ट्रिय नायक’बाट सम्मान गरेको थियो । सरकारले पण्डितलाई आर्थिक सहयोगस्वरुप रु तीन लाख प्रदान गरेको छ ।











