२१ पुस, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आफ्ना ११ बुँदे मागका विषयमा प्रमुख दलसँग वार्ताका लागि ३ सदस्यीय कार्यदल गठन गरेको छ ।

गत आइतबार राती प्रमुख दलसँग भएको सहमती अनुसार मोर्चाले ३ सदस्यीय कार्यदल गठन गरेको हो । तराई मधेश लोकतान्त्रिक पार्टी कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गरेर कार्यदल गठनबारे जानकारी दिइएको छ ।
कार्यदलमा संघीय समाजवादी फोरम नेपालका राजेन्द्र श्रेष्ठ, तराई मधेश लोकतान्त्रिक पार्टीका हृदयेश त्रिपाठी र तराई मधेश सद्भावना पार्टीका रामनरेश राय छन् । केही दिन पहिले अलग्गै आन्दोलनको घोषणा गरेको सद्भावना पार्टी भने कार्यदलमा छैन । सद्भावनाका नेता कार्यदलमा किन नबसेको भन्ने संचारकर्मीको प्रश्नमा तमलोपाका सहअध्यक्ष हृदयेश त्रिपाठीले प्रमुख तीन दलको कार्यदलमा तीन जना मात्र नेता रहेका कारण मोर्चाले पनि आफ्नो कार्यदलमा तीन जना नेता मात्र राखेको जवाफ दिए ।
कार्यदलमा नबसे पनि पत्रकार सम्मेलनमा सद्भावनाका महासचिव मनिष सुमन सहभागी थिए । महासचिव सुमनले भौतिक रुपले उपस्थित नभएपनि कार्यदलले गर्ने काममा पार्टीको समर्थन रहने बताए । उनले कार्यदल दल विशेषको नभई मोर्चाको भएकाले कार्यदललाई आफ्नो पार्टीले सम्पतिको रुपमा लिएको बताए ।
सद्भावना पार्टीले आफ्ना अध्यक्ष राजेन्द्र महतो प्रहरीको लाठी प्रहारबाट घाइते भएको विषयमा सरकारले माफी माग्नुपर्ने अन्यथा सरकारसँगको वार्तामा सहभागी नहुने बताउँदै आएको थियो । सद्भावनाले पुस १८ गते मोर्चाका घटक दलहरुसँग सल्लाह नै नगरी ९ दिनका लागि आन्दोलनका अलग्गै कार्यक्रम समेत घोषणा गरेको थियो ।











