२० पुस, काठमाडौं । प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिका कारण बन्दै नबनेको फिल्मसिटीका विषयलाई लिएर दोलखामा तीव्र विवाद सुरु भएको छ । दोलखाको डाङडुङ्गे डाँडामा फिल्मसिटी बनाउने तयारी भैरहे पनि कुनै पूर्वाधारको सुरुवात भएको छैन । तर प्रधानमन्त्री ओलीले फिल्मसिटी गोरखा वा गण्डकी क्षेत्रतिर बनाउनु उपयुक्त हुने बताएपछि दोलखावासीहरु आक्रोसित बनेका छन् ।
ओलीको अभिव्यक्तिपछि कांग्रेस भातृसंगठनलाई विरोधको बिऊ प्राप्त भएको छ । फलस्वरुप दोलखा नेविसंघले केही दिनपहिले ओलीको पुत्ला दहन गर्यो भने ओलीका प्रिय पात्र दोलखाबाट संस्कृति मन्त्री बनेका आनन्दप्रसाद पोखरेललाई कालो झण्डा समेत देखाइयो ।
दोलखामा आफूलाई राजनीति गर्न नै समस्या पर्ने भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्द पोखरेलले फिल्म स्टुडियोमा सरकारले लगानी नगर्ने अभिव्यक्ति दिएका छन् । प्रधानमन्त्री ओलीको भनाइको विरोध पनि नहुने र दोलखावासी पनि नरिसाउने गरी मन्त्री पोखरेलले नयाँ भनाइ सार्वजनिक गरेका हुन् ।
दोलखावासीले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री पोखरेलले स्टुडियो गोरखाको सट्टा डाङडुङे डाँडामा नै बन्ने तर स्टुडियो बनाउन सरकारले लगानी भने नगर्ने बताए । स्टुडियो बनाउन निजी क्षेत्रले लगानी गर्नुपर्ने भन्दै सरकारले सडक, बत्ती र खानेपानीको मात्र व्यवस्था गरिदिने उनले बताए ।
कार्यक्रममा दोलखा पुख्र्यौली घर भएका वरिष्ठ कलाकार श्रेष्ठले फिल्म स्टुडियो बनाउनका लागि डाङडुङे डाँडा सबैभन्दा उपयुक्त स्थान भएको भन्दै जथाभावी अभिव्यक्ति दिनुको साटो स्टुडियो निर्माणको काम अगाडि बढाउन सरकारसँग आग्रह गरे ।












