कृष्णाकुमारी शर्मा
१८ पुस, काठमाडौं । प्रहरीको आक्रमणबाट नेपालमा उपचार नभएको भनी दिल्ली गएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो मासुभात खान दिल्ली गएको खुलासा भएको छ । धरानस्थित विपी प्रतिष्ठानले उनको अवस्था सामान्य रहेको भन्दै चिकित्सकहरुले डिस्चार्ज हुन आग्रह गर्दा पनि उनी आफ्नै ईच्छाले केही समय आइसियुमा र त्यसपछि पेइङ वार्डमा बसेका थिए । त्यहाँ बस्दा महतोले उल्टै आफूलाई अस्पताल प्रशासनले मासु खान नदिएको भनी आक्रोस पोखेका थिए । महतोलाई विपी प्रतिष्ठनमा रहँदा भेटेका संस्कृति मन्त्री आनन्दप्रसाद पोखरेलले नेपालदेश डटकमसँग कुराकानी गर्दै महतोले यस्तो भनेको खुलासा गरे ।
कुनै समस्या नभएको भनी अस्पतालले डिस्चार्ज गर्न खोज्दा पनि त्यहीँ केही दिन बसेका महतोलाई मन्त्री पोखरेल गत वुधबार भेट्न गएका थिए । उनले भने – ‘उहाँको टाउकोमा दुइटा टाँका लगाइएको थियो । सबै अवस्था नर्मल भएको चिकित्सकहरुले बताउँदै डिस्चार्ज हुन आग्रह गरेका थिए । तर उहाँले त उल्टै आफूलाई मासु खान नदिएको भन्दै आक्रोस पोख्ने गरेको कुरा सुनेँ ।’
चिकित्सकले सबै अवस्था सामान्य भएको भन्दा पनि महतोले शरीरभित्र बेसरी दुख्छ भन्दै अस्पतालमै बसेको जानकारी समेत वरिष्ठ चिकित्सकले आफूलाई दिएको मन्त्री पोखरेलले बताए ।
विराटनगरमा नाका अवरोधका क्रममा टाउकोमा चोट लागेका महतोको सुरुमा सिमापारिको अस्पतालमा उपचार गरिएको थियो । त्यसपछि उनलाई विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार गरिएको थियो । सामान्य मलम पट्टीपछि जनरल वार्डमा सार्न लागिएका महतो आफ्नै जोडबलले धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका थिए ।
गोल्डेन अस्पतालमा आइसियुमा राखेर उपचार गरिएका महतोलाई सामान्य बिरामी भनेर वार्डमा सार्न लागेपछि उनी आइतबार राती नै धरान पुगेका थिए। उनलाई धरानस्थित वीपी प्रतिष्ठानमा पनि सिधै आइसियुमा राखिएको थियो । तर त्यहाँ पनि उनमा खासै समस्या नदेखिएपछि र पाँच घण्टापछि चिकित्सकहरुले उनलाई वार्डमा सारेका थिए ।
ब्लड प्रेसर र सुगरका बिरामी महतो अस्पताल नै बस्नुपर्ने अवस्थामा नभएको प्रतिष्ठानका सुचना शाखा प्रमुख सुजेन्द्र तामाङले समेत बताएका थिए । महतोलाई उपचारको लागि दिल्ली लगिएको खबरले उनी आफै अचम्भित भएको समेत जानकारी दिएका थिए ।
लामो समयसम्म सिमापारी गएर मासुभात खाँदै नेपालतिर ढुंगा हान्न लगाउने गरेका महतो मधेसका विभिन्न सभामा पुग्ने र मृतकलाई झण्डा ओढाउने कार्यक्रम छुटाउँदैनथे । यतिवेला उनी दिल्ली जानुलाई केही रहस्यमय घटनाका रुपमा विश्लेषढा भएको छ ।
महतो अझै पनि आफूलाई प्रहरीले मरणासन्न गरी कुटेको भन्दै मधेसका मतदाताको बढी सहनुभूति लिने प्रयास गर्दैछन् । यसले आफूलाई आगामी चुनावमा फाइदा पुग्ने महतोले ठानेको हुनुपर्छ । किनभने मधेसमा उपेन्द्र यादवको बढी वर्चश्व रहेपछि महतोलाई धेरै समस्या पर्ने गरेको छ । फलस्वरुप महतो र यादवबीच मनमुटाव समेत रहँदै आएको छ ।
दिल्ली पुगेर यता पुस १९ देखि २७ सम्म थप आन्दोलन महतोले घोषणा गरेका छन् । मधेसी मोर्चाका अन्य दलले आन्दोलनको स्वरुप फेर्ने र सहमतिमा आउने तयारी गरीरहेका बेला महतो आफूलाई मधेसको मसिहा बनाउने योजनामा लागेको प्रष्टै हुन्छ । किनभने मोर्चाका अन्य दलले आन्दोलन छाडे भने वा छाड्ने मनस्थिति बनाए भने राजेन्द्र महतोले आजसम्मको आन्दोलनका जस लिने सकिन्छ भन्ने योजनामा देखिन्छन् ।
अर्को कुरा उनी काठमाडौंमा आलिशान घर बनाएर भौतिक सुविधान उपभोग गरेर रमाएका महतोलाई आन्दोलनम हिँड्दा दुःख भएको हुनसक्छ । त्यसैले उनी यही वाहनामा आराम गर्न चाहन्छन् र आन्दोलनकारीलाई भने अझै तताउन चाहन्छन् । नेपालका अस्पतालमा मिडियाको पहुँचका कारण उनको स्वास्थ्य समस्या नभएको संचारमाध्यममा आइहाल्ने भएकोले दिल्ली गएर उनी मासुभात खान चाहन्छन् ।
यही मेसोमा दिल्लीका शासकसँग रोइकराई गर्ने अर्को योजना समेत महतोको रहेको विश्वस्त स्रोत बताउँछ । सकेसम्म उनी भारतीय शासकबाट मासुभात खाने उनका ईच्छा देखिन्छ तर उनलाई भारतले माया मानेर मासुभात खुवाउला या नखुवाउला प्रतीक्षाको विषय बनेको छ ।












