१८ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले पार्टीको महाधिवेशनमा निर्वाचनमा पैसाको पछि नलाग्न कार्यकर्तालाई आग्रह गरेका छन् । कोइराला परिवार र आफू निकट एक दर्जन केन्द्रीय सदस्यहरु सहित शनिबार पर्वत पुगेका कोइरालाले आगामी महाधिवेशनमा विवेक पुर्याउन कार्यकर्तालाई आग्रह गरे । पार्टीको निर्वाचनमा पैसाको खेलमा नलाग्न सचेत गराउँदै कोइरालाले महाधिवेशनमा पैसाको खेल भयो भने पार्टी नबाँच्ने चेतावनी दिए ।

अझै पनि आफू पार्टी चलाउन सक्षम रहेको दावी गरे । कांग्रेस सभापतिमा आफ्नो विकल्प नरहेको दावी समेत उनले गरे । नेपाली कांग्रेस पर्वतले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कोइरालाले तीन तीन वटा गम्भीर रोगलाई जितेर आइसकेको भन्दै आफू अझै पार्टी चलाउनका लागि स्वस्थ र सक्षम रहेको बताए ।
आफूलाई छातीको अप्रेसन गरेर घरमा सुतेको छ भनेर गलत प्रचार गरिएको तर आफू भने पार्टीको काममा युवाजत्तिकै सक्रीय रहेको उनले बताए । आफुलाई रोगसँग चिन्ता नभएको र संविधान पूर्ण कार्यान्वयन भएर निर्वाचनमा कांग्रेस पुनः पहिलो पार्टी नहुँदासम्म आफू तन्दुरुस्त नै रहने कोइरालाको भनाइ थियो ।











