१५ पुस, पोखरा । विद्युत सट भएपछि पोखरामा निसास्सिएर एकै परिवारका चार जनाको ज्यान गएको छ । पोखरा १४ चाउथे स्थित प्रगतिटोलमा आगलागीबाट निस्किएको धुवाँमा निसास्सिएर चार जनाको मृत्यु भएको हो ।

स्थानीय मानबहादुर रानाको घरको एउटा कोठामा बिद्युत सट भई आगलागी हुँदा निसास्सिएर रानाकी श्रीमती ३६ वर्षीया सिता, ११ वर्षीय छोरा सिमान्त, सिताकी आमा स्याङजा मल्याङकोटकी ५५ वर्षीया गंगाकुमारी फाल र सिताकी दिदीकी छोरी स्याङजा वालिङकी २८ वर्षीया वसन्ती मगरको मृत्यु भएको हो ।
प्रहरी निरीक्षक वेद प्रकाश जोशीका अनुसार राति बिद्युत सट भएर एउटा कोठामा आगलागी भएपछि अन्य कोठामा सुतेका उनीहरुको ज्यान गएको हो । दुई तले घरको माथिल्लो तलामा रहेको सिटिङ रुममा आगलागी भएपछि त्यसबाट निस्केको धुवाँले निसास्सिएर त्यहाँ रहेका सबैको ज्यान गएको जोशीले बताए ।
झ्याल, ढोका पुरै बन्द गरेर सुतेकाले धुवाँ निस्कने ठाँउ नहुँदा उनीहरुको ज्यान गएको हो । मानबहादुर भने वैदेशिक रोजगारीका शिलशिलामा ईजरायलमा छन् । राति कति वेला बिद्युत सट भएर आगलागी भयो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
भूइँ तल्लामा बस्नेहरुले बिहान माथिल्लो तलाबाट धुवाँ निस्किएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । विहान ६ बजे प्रहरी पुगेर झ्याल ढोका फोडेर हेर्दा सबै मृत भेटिएका थिए । आगलागीबाट एउटा कोठा पूरै जलेको छ । ‘एउटा कोठा मात्रै पूर्ण रुपमा जलेको छ , अन्य कोठामा धुवा मात्रै भरिएको थियो, ’ उनले भने ‘धुवाँ जानसक्ने गरी झ्याल खुल्ला राखेको भए उनीहरुको ज्यान बच्न सक्थ्यो । ’











