१३ पुस, काठमाडौं । देशमा विद्यमान संकटमोचनको कामना गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार पशुपतिनाथमा सोमबार विशेष पूजाअर्चना गरेकी छिन् । राष्ट्र कल्याणको कामना गर्दै पशुपतिनाथमा राष्ट्रप्रमुखले पूजा गरेको यो पहिलोपटक हो ।

राष्ट्रपति भण्डारीको इच्छाअनुसार नै यो पूजाको आयोजना गरिएको पशुपती क्षेत्र बिकास कोषले जनाएको छ । राष्ट्र संकट परेको अवस्थामा पशुपतिनाथमा संकट मोचन पूजा गर्ने लिच्छवीकालीन इतिहास र राजा महाराजाको परम्परालाई पछ्याँदै राष्ट्रपति भण्डारीले पूजा अर्चना गरेकी हुन् । प्रथम राष्ट्रपति डा. रामवरण यादवले शिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शन गर्ने गरे पनि यस्तो संकटमोचन पूजा भने गरेका थिएनन् । राष्ट्रपति भण्डारीले मूल मन्दिरमा भट्टमार्फत राष्ट्रकल्याणको संकल्प गर्दै विशेष पूजा अर्चना गरेकी थिइन् । पूजापछि भण्डारीले पञ्चामृत र रुद्राभिषेक ग्रहण गरेको राष्ट्रपतिको कार्यालयले विज्ञप्तीमार्फत जानकारी दिएको छ ।
राष्ट्रपति भण्डारीले आफ्नो पुस महिनाको तलव स्वरुप एक लाख २१ हजार रुपैयाँ पशुपतिका लागि आर्थिक सहायतास्वरुप चन्दा दिएको समेत राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
कम्युस्टि पृष्ठभूमिकी राष्ट्रपति भण्डारीले पशुपतिनाथमा गरेको विशेष पूजालाई भारतको सत्तापक्षको संवेदना लिने प्रयासस्वरुप भएको समेत विश्लेषण गरिएको छ ।











