१० पुस, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले भुकम्प प्रभावित जनता भरपर्दो छानोको अभावमा ज्यान गुमाउन वाध्य बनिरहेको अवस्थामा मन्त्रालय फुटाइ एक दुईसिटे पार्टीका सांसद्लाई मन्त्री बनाएर प्रधानमन्त्री ओलीले आफ्नो सरकार आफैं ढाल्ने आधार बनाएको बताएका छन् । काँग्रेस उपसभापति पौडेलले लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजको शुक्रबार पोखरामा भएको पश्चिमाञ्चल क्षेत्रीय भेलामा प्रधानमन्त्री ओलीका पछिल्ला क्रियाकलाप सरकार गिराउन सहयोग गर्ने खालका भएको बताए ।

भुकम्प प्रभावित जनतालाई छानो दिनुको साटो मुलुकलाई अर्बौं रुपैयाँको भार पर्ने गरी मन्त्रीपरिषद् विस्तार गर्नु सरकारका लागि नै घातक भएको उनले बताए ।
प्रधानमन्त्री ओलीले ३० सदस्यीय मन्त्रीपरिषद्मा विहीवार आफ्नो पार्टीका ६ जना राज्यमन्त्री र एक दुई सिटे पार्टीका चार जना मन्त्री थप गरेका थिए । काँग्रेस उपसभापति पौडेलले भूकम्प प्रभावित जनताको राहत र मधेश आन्दोलन सम्बोधन गर्न चासो नदिएर प्रधानमन्त्री ओलीले सरकार ढाल्न प्रमुख प्रतिपक्षीले कुनै कदम नै चाल्नु नपर्ने अवस्था निर्माण गरेको ठहर पौडेलको थियो । प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद्को आकार बढाएर संविधानप्रति निष्ठा नदेखाएको आरोप समेत पौडेलले लगाए ।
काँग्रेस उपसभापति पौडेलले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको चार महिनाभन्दा लामो आन्दोलनका कारण मुलुकको सबै क्षेत्र प्रभावित भएको भन्दै मोर्चाले उठाएका मुद्दालाई सम्बोधन गरेर मुलकलाई निकास दिन अब ढिलाइ गर्न नहुने बताए ।











