१० पुस, काठमाडौं । तराई–मधेसको समस्या समाधान गर्ने र व्यवस्थापिका–संसदको अवरोध खोल्ने विषयमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार विभिन्न राजनीतिक दलका नेताहरुसँग राजनीतिक परामर्श गनुभएको छ । नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला र नेकपा एमालेका नेता माधवकुमार नेपालसँग प्रचण्डले छुट्टाछुट्टै परामर्श गरेका हुन् ।
प्रचण्ड निवास लाजिम्पाटमा भएको परामर्शमा व्यवस्थापिका–संसदमा प्रस्तुत भएको संविधान संशोधन विधेयकलाई आन्दोलरत् मधेसी मोर्चाको सहमतिमा नै अगाडि बढाउने विषयमा कुराकानी भएको उहाको नीजी सचिवालयले जनाएको छ । लामो समयदेखि मुलुक संकटमा फसेको, समस्या समाधानको विभिन्न प्रयत्न भएपनि सार्थक निष्कर्ष ननिस्केको भन्दै सदनमा पेस भएको संविधान संशोधन विधेयकलाई अधिकतम सहमतिमा अगाडि बढाउनुपर्नेमा जोड दिइएको थियो ।

प्रचण्डका सहयोगी शिव खकुरेलका अनुसार नेताहरुबीचको परामर्श आइतबार बस्ने सदनको बैठकबाट संविधान संशोधन विधेयकलाई अगाडि बढाउने र नेपाल–भारत सीमामा जारी रहेको अवरोध हटाउने विषयमा नै केन्द्रित रहेको थियो ।
प्रचण्डले शुक्रबारै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग पनि छुट्टै छलफल गरेका थिए । एक निजी निवासमा भएको छलफलमा प्रचण्डले सदनमा पेस भएको संविधान संशोधन विधेयकलाई अगाडि बढाउन सहयोग गर्न आग्रह गरेका थिए । तर, मोर्चाका नेताहरुले भने सीमांकनको विषय नै प्रमुख एजेन्डा भएकाले सो विषयमा प्रस्ट अवधारणा अगाडि सार्न आग्रह गरेका थिए ।











