१० पुस, काठमाडौं । कम्युनिस्ट पृष्ठभूमि भएकी र धर्म निरपेक्ष राष्ट्रकी राष्ट्रपति विद्यादेवी भण्डारीले हिन्दू धर्मको पक्षपोषण हुने गरी धार्मिक कार्यमा सक्रियता बढाउँदै छिन् । विवाह पञ्चमीका अवसरमा जनकपूर पुगेर सहानुभूति बटुलेकी भण्डारी हिन्दूहरु र भारत सरकारको प्रिय बन्ने योजनासहित निरन्तर धार्मिक कार्य गर्न तम्सिएकी छिन् । जनकपूर घटना सेलाउन नपाउँदै उनले राष्ट्र कल्याणको कामना गर्दै सोमवार बिहान साढे ९ बजे पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्ने भएकी हुन् ।

मुलुकमा भइरहेको सङ्कटमुक्तिको कामना गर्दै राष्ट्रपति भण्डारीले राष्ट्र कल्याणको सङ्कल्पले विशेष पूजा गर्ने कार्यक्रम तय भएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा गोविन्द टन्डनले जानकारी दिए ।
“राष्ट्रपति भण्डारीले पञ्चामृत र अभिषेकसहित राष्ट्र कल्याणको कामनाका लागि सङ्कल्प गरी विशेष पूजा गर्नुहुनेछ, बिहान साढे ९ बजे पशुपतिनाथको मन्दिर परिक्रमा विधिअनुसार प्रवेश गरी मूल मन्दिर र वासुकीनाथ मन्दिरमा पनि विशेष पूजाको कार्यक्रम तय भएको छ”–सदस्यसचिव डा टण्डनले भने।
राष्ट्रपति भण्डारी पशुपतिनाथ मन्दिर परिसरमा पुगेपछि नेपाल वेद विद्याश्रमका वटुकले स्वस्तिवाचन र स्थानीयवासीले धिमेबाजा एवम् बाँसुरी वादनले उनको स्वागत गर्ने कार्यक्रम तय भएको कोषले जनाएको छ । पशुपति परिक्रमा र विशेष पूजा गरी राष्ट्रपति भण्डारीले करिब एक घन्टा पशुपति परिसरमा बिताउने छिन्।
राष्ट्रपतिमा निर्वाचित भएपछि भण्डारीको यो पहिलो पशुपतिनाथमा पूजा एवम् दर्शन गर्न लागेकी हुन्।
स्मरणीय छ एमाले अध्यक्ष केपी ओलीको प्रस्तावमा भण्डारी राष्ट्रपति बनेकी हुन् र ओलीले प्रधानमन्त्रीको सपथ लिँदा ईश्वरका नाममा सपथ लिन इन्कार गर्दै देश र जनताका नाममा सपथ लिएका थिए । अहिले भारत सरकारको समर्थन बटुल्ने प्रयासस्वरुप प्रधानमन्त्री ओलीकै योजनामा राष्ट्रपतिलाई हिन्दू धर्मको संरक्षकका रुपमा प्रस्तुत गरेर वर्तमान सरकारप्रति सहानुभूति बटुल्ने प्रयास गरिएको विश्वस्त स्रोत बताउँछ ।











