८ पुस, काठमाडौं । एमाओवादीले आफ्ना राज्य समितिहरु भङ्ग गर्दै प्रादेशिक संरचनामा बनाएको छ । एमाओवादीले १३ राज्य समिति बनाएकोमा ती सबै राज्यसमिति भङ्ग गरी सात प्रदेशअनुसारका संरचना गठन गरेको हो । एमाओवादी केन्द्रीय समितिले यस्तो निर्णय गरेको जानकारी सो पार्टीले आज पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो ।

एमाओवादी बैठकले ७ प्रदेशका इञ्चार्जहरु तोक्नुका साथै केन्द्रीय स्कुल विभाग र मुखपत्र प्रकाशन विभागसमेत गठन गरेको छ ।
मंगलबार सम्पन्न बैठकले पोलिटब्यूरो सदस्य राम कार्कीलाई १ नम्बर प्रदेशको इञ्चार्ज तोकेको छ । त्यस्तै २ नम्बर प्रदेशमा विश्वनाथ साह, ३ नम्बरमा कृष्णबहादुर महरा र ४ नम्बर प्रदेशमा डिलाराम आचार्यलाई इञ्चार्ज तोकेको छ । ५ नम्बर प्रदेशको इञ्चार्ज चन्द्रप्रकाश खनाल ९बलदेव० तोकिएका छन् भने ६ नम्बरमा जनार्दन शर्मा र ७ नम्बर प्रदेशमा लेखराज भट्ट इञ्चार्ज बनेका छन् ।
प्रत्येक प्रदेशमा सेक्रेटरीसमेत तोक्ने एमाओवादीले निर्णय गरेको छ । सेक्रेटरी तोक्ने जिम्मा स्थायी कमिटीलाई दिइएको छ ।
तीन नम्बर प्रदेशमा एमाओवादी सचिव वर्षमान पुन ‘अनन्त’लाई पछि इन्चार्ज बनाउने गरी तत्काललाई महरालाई जिम्मा दिइएको बताइएको छ । सचिव पुन जन्डिसको समस्याका कारण थाइल्याण्डमा उपचाररत छन् ।
मंगलबार सम्पन्न बैठकले केन्द्रीय समितिमा ६ जनालाई मनोनयन गरेको छ । थप गरिएका केन्द्रीय सदस्यमा पाँचजना थारु र एकजना मधेसी समुदायका छन् ।
बैठकले केन्द्रीय समितिमा सन्तबहादुर चौधरी, गौरीशंकर चौधरी, हरिराम चौधरी, तपेश्वर चौधरी मानपुर चौधरी र विजय महतोलाई थप गरेको छ ।
उपाध्यक्षसहित २६ केन्द्रीय सदस्य रिक्त रहे पनि तीन महिनापछि बस्ने अर्को बैठकले २० जना थप गर्ने प्रचण्डले बैठकमा बताएका छन् । २६ सीटमा करिब ३ सय आकांक्षी देखिएकाले एमाओवादीले सबै केन्द्रीय सदस्यहरु थप नगरेको हो । बाबुराम भट्टराई पक्षको बहिर्गमनपछि २२ जना केन्द्रीय सदस्य खाली भएका छन् ।
केन्द्रीय समितिको बैठकले अध्यक्ष प्रचण्डको संयोजकत्वमा केन्द्रीय प्रकाशन विभाग बनाएको छ । प्रकाशन विभागमा गोपाल किराती, दीनानाथ शर्मा, विश्वभक्त दुलाल ‘आहुती’ र उर्मिला अर्याल छन् ।
त्यसैगरी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा केन्द्रीय स्कुल विभाग गठन भएको छ । स्कुल विभागमा विश्वभक्त दुलाल आहुती, राम कार्की, शशी श्रेष्ठ, धर्मदत्त देवकोटा र ध्रुव पराजुली छन् ।
एमाओवादीले उत्पादन विभागसमेत गठन गरेको छ । उत्पादन विभागका प्रमुखमा लोकेन्द्र विष्टलाई राखिएको छ ।
प्रचण्डले आफ्नो स्वकीय सचिव चूडामणि खड्कालाई परिवर्तन गरी उनको ठाउँमा जोखबहादुर महरा प्रतापलाई ल्याएका छन् ।
त्यस्तै हितराज पाण्डे प्रमुख सचेतक भएकाले उनलाई कार्यालय सचिवबाट हटाइएको छ । केन्द्रीय कार्यालयको जिम्मा डोरप्रसाद उपाध्याय र प्रकाश पोखरेलले सम्हाल्ने भएका छन् ।
त्यस्तै एमाआवादीले नयाँ शक्ति अभियानमा लागेका २२ नेताहरुलाई साधारण सदस्यसमेत नरहने गरी निस्कासित गरेको छ । स्थायी समिति सदस्य देवेन्द्र पौडेल, हिसिला यमी, नेताहरु रामचन्द्र झा, गंगानारायण श्रेष्ठ, नवराज सुवेदी, बलावती शर्मा, रामकुमार शर्मा, खिमलाल देवकोटा लगायत २२ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए ।
यस्तै, संविधानमा समेत हस्ताक्षर नगरेका र पार्टीको बैठकमा समेत भाग लिन आनाकानी गर्दै आएका पोलिटब्यूरो सदस्य प्रभु साहलाई भने अन्तिमपटक स्पष्टीकरण सोध्ने निर्णय एमाओवादीले गरेको छ ।











