६ पुस, विश्व सुन्दरी प्रतियोगिता ‘मिस युनिभर्स’ कार्यक्रममा गम्भीर लापरवाही भएका कारण विश्वभर आयोजकको बद्नाम भएको छ । फस्र्ट रनरअपको नाम सम्बोधन गर्नुपर्नेमा कमेडी गायकले प्रतियोगिता विजेता भनी सम्बोधन गरिदिँदा प्रतियोगिताको ताज जितेकी सुन्दरीको ताज तरुन्तै गुमेको छ ।
आज भएको मिस युनिभर्स प्रतियोगितामा कलाकार स्टिभ हार्भेले मिस कोलम्बिया मिस युनिभर्स भएको घोषणा गरेका थिए । फर्स्ट रनर अप मिस कोलम्बिया हुनुपर्नेमा उनले उपाधि विजेता भनी घोषणा गरे ।
मञ्चमा दुई सुन्दरी थिए – मिस कोलम्बिया एरिआड्ना गुटिएरेज र मिस फिलिपिन्स पिया अलोन्जो वुर्टजबाच। हार्भेले विजेता भन्दै मिस कोलम्बियाको नाम लिए। दङ्ग परिन् गुटिएरेज। आँसु समेत पुछिन् उनले। उनलाई ताज पहिर्याइयो। मिस फिलिपिन्स छेउ लागिन्। ताज लगाएर हात हल्लाउँदै फोटो सुट गर्नमा व्यस्त थिइन् मिस कोलम्बिया। यत्तिकैमा कार्यक्रम सञ्चालक स्टिभ हार्भे मञ्चमा देखा परे र भने- ‘मैले माफी माग्नुपर्छ।’ किन उनले यसो भने भनेर दर्शक छक्क परे। ‘यो मेरो गल्ती हो, म जिम्मेवारी लिन्छु’ भन्दै उनले घोषणा गरे मिस कोलम्बिया फर्स्ट रनर अप हुन्। मिस युनिभर्स मिस फिलिपिन्स हुन्। मिस कोलम्बिया अकमक्क परिन्। छेउतिर लागिसकेकी मिस फिलिपिन्सले विश्वास गर्नै सकिनन्। तर उनी अगाडि आइन्। एक मोडेल स्टेजमा पुगिन र पहिले ताज लगाएकी सुन्दरीको पिठ्युँमा विस्तारै सम्सुम्याउँदै उनको शिरबाट ताज झिकिन् । अनि मिस युनिभर्स बनेकी मिस फिलिपिन्सको शिरमा ताज पहिर्याई दिइन् ।
उद्घोषक तथा कलाकार हार्भेले प्रतियोगिता विजेताको नाम छापिएको कार्ड नै दर्शकलाई देखाउँदै यो आफ्नो गल्ती भएको र आयोजकको गल्ती नभएको दोहोर्याए । मिस युनिभर्स आयोजकले समेत गल्ती भएको भन्दै माफी मागेको छ ।
हेर्नुहोस् ताज खोसिएको भिडियो :













