दीपेश पौडेल
४ पुस, रौतहट । रौतहटको हरैया पल्टुवा गाविसमा अज्ञात समुहले धारिलो हतियार प्रहार गरी आमा छोरीको विभत्स हत्या गरेको छ ।शनीबार बिहान ३ बजे घर भन्दा २ सय मिटर उतर वडानम्बर ४ र ८ को दुईटोल बीच भागमा पर्ने उखुबारी नजिकको बाटोमा आमा छोरीको हत्या गरेका हुन । छोरी लाई शौच गराउन बाहिर निस्केको अबस्थामा हरैया पल्टुवा गाबिस–३ पल्टुवा कानु टोल निबासी ३२ बर्षिय रेणु देवी साह र उनका १० बर्षिय छोरी अंकिताकुमारी साहको धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घरबाहिर निस्केका बुहारी र नातिनी अबेर सम्म नआएपछि सासु एतबरिया देबी र देवर रामएकवाल साह खोज्दै जाने क्रममा दुबैको हत्या भएको देखेका थिए ।
उनीहरुको घर र गोठ तीन सय मिटरको फरक दुरीमा रहेपछि खोज्दै गोठमा जाने क्रममा हत्या भएको देखेको उनीहरुले बताएका छन ।ती दुबैको घाँटी, टाउको, औला, अनुहार सहित शरिरको विभिन्न भागमा धारिलो हतियार प्रहार भएको छ । प्रहरी उपरिक्षक गणेशराज रेग्मीले हत्याराको खोजी भैरहेको बताउनुभयो । हत्याराको खोजी गर्न मध्यक्षेत्रिय प्रहरी कार्यालय हेटौडा बाट तालिम प्राप्त कुकुरको सहयोग लिएपनि सफल हुन सकेको छैन । तालिम प्राप्त कुकुरले ५ किलोमिटर सम्म खोजेपनि उपलब्धि हुन नसकेको हो । चार बर्षदेखि मृतक महिलाको श्रीमान रामबालक साह बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत रहेको छ भने घरमा बुद्ध आमावुवा, देवरदेवरानी सहित तीन छोरी र एक छोरा रहदै आएका छन् ।












