२ पुस, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनलाई अझै कडा पार्दै संसद अवरोधलाई समेत जारी राख्ने निर्णय गरेको छ । संविधान संशोधनका विषयमा सरकारसँग कुरा नमिलेपछि आन्दोलन सशक्त बनाउने र शीर्षनेताहरुले काठमाडौं छाड्ने निर्णय मोर्चाले गरेको हो। यद्यपि मोर्चाका शीर्ष नेता यसअघि पनि तराईको आन्दोलनमा सहभागी हुँदै आएका छन् ।

बिहीबार बसेको मोर्चाको बैठकमा अहिलेसम्मको आन्दोलनको समीक्षा समेत गरेको छ ।
तमलोपा कार्यालय बिजुलीबजारमा बसेको बैठकले सीमा नाकामा धर्नासहितको आन्दोलन यथावत राख्ने निर्णय गरेको नेताहरुले जानकारी दिए । सबै जिल्लामा आमसभा, लाठी जुलुस प्रदर्शनलगायतका कार्यक्रम समेत घोषणा गर्ने मधेसी मोर्चाको तयारी छ ।
आन्दोलनको घोषणाका लागि शुक्रबार पुनः बैठक बसेर कार्यक्रमलाई अन्तिम रुप दिने र २ बजे पत्रकार सम्मेलन गर्ने जानकारी सदभावना पार्टीका महासचिव मनिष सुमनले दिए ।
मधेसी मोर्चाले संसदमा प्रस्तुत भएको संविधान संशोधन विधेयक स्वीकार्य नभएको समेत बताएको छ । संसदमा अवरोध जारी राख्ने तमलोपाका महासचिव जितेन्द्र सोनलले बताए ।











