२ पुस, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका महानिरीक्षक कोषराज वन्तलाई निलम्बन गर्न सिफारिश गरेको छ ।
अकुत सम्पत्ति कमाएको आरोपमा दुईहजार सत्तरी असारमा सम्पत्ति रोक्का गरी छानबिन सुरु गरेको अख्तियारले आज सरकारलाई पत्र लेखी निलम्बनको रिफारिस गरेको हो । एक चिनियाँ कम्पनीसँग टियर ग्यास खरिद गर्दा ठूलो रकम अनियमितता गरेकोसँगै पेट्रोलपम्प र कल्याण कोषको हिसाव–किताव दुरुस्त नराखेको वन्तमाथि आरोप लाग्दै आएको थियो । अख्तियारले सशस्त्रको आर्थिक प्रशासन शाखाका पूर्वएसएसपी चिरञ्जीवी अधिकारी र एसपी श्यामकाजी कुँवरको खाता रोक्का गरी छानबिन गरिरहेको थियो । वन्तले भ्रष्टाचार गरेर सम्पत्ति विदेश पठाउने गरेको अख्तियारको उजुरीमा उल्लेख छ ।
ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा महानिरीक्षक वन्तको लगानी छ । उनले भ्रष्ट्राचार गरेको रकम अष्ट्रेलिया पठाउने र अष्ट्रेलियाबाट भाउज्यूको कमाइ भन्दै हुण्डीमार्फत नेपाल झिकाएर किष्टमा लगानी गरेको विश्वस्त स्रोत बताउँछ । अख्तियारमा गत वर्ष नै परेको उजुरीमा दावी गरिएअनुसार आफन्तका नाममा वन्तले त्यहाँ गरेको लगानीको रहस्य भ्रष्टाचारसँगै जोडिएको छ ।
सशस्त्र प्रहरीको सामान खरिद र ढुवानीमा वन्तले भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । महानिरीक्षक वन्तले करोडौं रुपैयाँ भ्रष्ट्राचार गरेको दावी अख्तियारले गरेको छ ।
वन्त २०६८ चैत २९ गते सशस्त्र प्रहरी महानिरीक्षक पदमा नियुक्त भएका थिए ।












