१ पुस, काठमाडौं । आफूहरुको विरोधका बीच संविधान संशोधन विधेयक पेश गरेको भन्दै मधेसी मोर्चाले संसद बैठक बहिस्कार गरेको छ । संसदको बुधबारको बैठक सुरु हुनासाथ मधेसी मोर्चामा आवद्ध सद्भावना पार्टीका लक्ष्मण लाल कर्णले समय लिँदै आफूहरुको नाराबाजीका बीच मंगलबारको बैठकमा विधेयक पेश गरेकोबारे प्रश्न उठाए । यसअघि सभामुख स्वयंमले संसद अवरुद्ध भएको बेला बैठक अघि बढ्न सक्दैन भनेको तर मंगलबार अर्को रुलिङ नगरी बैठक अघि बढाएको भन्दै सांसद कर्णले नियमापत्ति पनि गरे । कर्णले संसदमा साना दलहरुको आवाजलाई दमन गरिएको आरोप लगाए ।

उनले भूकम्प पछिको पुननिर्माण प्राधिकरण सम्बन्धि विधेयक पारित गर्न मात्रै संसद चल्न दिएको धारणा पनि राखे ।
नेता कर्णले बोलिसकेपछि मधेसी मोर्चामा आवद्ध दलका सांसदहरु बैठक बहिष्कार गरि बाहिरिएका थिए । बैठकमा सभासद प्रेम सुवाल र सभासद हरिचरण साहले आफूले संविधान संशोधन विधेयकको विरोधमा दर्ता गराएको विरोधको सूचना प्रस्तुत नभएकोमा आपत्ती जनाएका थिए ।











