१ पुस, भोजपुर / हरेक वर्षको विवाह पञ्चमीमा जनकपुरमा भव्य मेला आयोजना हुँदै गर्दा पूर्वी पहाडी जिल्ला भोजपुरमा भने बालागुरु षडानन्दको जन्मजयन्ती मनाइएको छ । षडानन्दको जन्मजयन्तीको अवसरमा आज भोजपुरको दिङ्लामा एक कार्यक्रमको आयोजना गरीएको छ । कार्यक्रममा षडानन्दलाई राष्ट्रिय विभूति घोषण गर्न स्थानीयले माग गरेका थिए ।

षडानन्द अधिकारीले राणाहरुको कठोर शासन र जनताका छोराछोरीले पढ्न हुँदैन भन्ने भावनाको विरोध गर्दै वि.सं. १९३२ सालमा भोजपुरको दिङ्गलामा संस्कृत पाठशाला संचालन गरेका थिए ।
जनताका छोराछोरीले पढ्न पाउने नेपालकै पहिलो संस्कृत विद्यालयको स्थापना षडानन्दले गरेका हुन् । विद्यालय स्थापना संगसंगै षडानन्द अधिकारी विभिन्न समाज सुधारका काममा समेत थिए । भाजपुरको जंगलमा रुद्राक्ष रोप्ने काम उनले गरेका थिए । उनले भित्र्याएको रुद्राक्ष खेती अहिले भोजपुरमा उत्कष्ट आम्दानीको स्रोतका रुपमा रहँदै आएको छ ।
१८९२ मा भोजपुरको दिङ्गला स्थित गडिगाँउमा जन्मिएका षडानन्द अधिकारीको मृत्यु १९७३ साल जेठ ३२ गते भएको थियो ।













