२९ मंसिर, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मंगलबार संसदमा पेश भएको संविधान संशोधन विधेयक नमान्ने प्रतिक्रिया दिएको छ । मंगलबार संसदमा पुननिर्माण प्राधिकरण सम्बन्धि विधेयक र संविधान संशोधन विधेयक पेश भएपछि नारावाजी गरेर बाहिरिँदै मोर्चा घटक सद्भावनाका सहअध्यक्ष लक्ष्मण लाल कर्णले संशोधनले मधेसको कुनै पनि एजेन्डा संशोधन नगर्ने भएकाले मान्य नहुने उल्लेख गरे । उनले सरकार, संसद र सभामुख तानाशाही भएको समेत आरोप लगाउनुभयो । उनले सरकारकासँग भइरहेको वार्ताका विषयमा पनि सोच्नुपर्ने अवस्था आएको बताए ।
आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका माग सम्बोधन गर्न सरकारले नेपालको संविधानको पहिलो संशोधन विधेयक मंगलबार संसदमा पेश गरेको थियो । समानुपातिक समावेशी व्यवस्था र ७५ जिल्लामा एक निर्वाचन क्षेत्र नघट्ने गरी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने गरी संविधान संशोधन गर्न सरकारले संविधान संशोधन विधेयक संसदमा पेश गरेको हो ।












