२९ मंसिर, काठमाडौं । पेट्रोलियम पदार्थले सास्ती भोगका काठमाडौंवासीले अब विद्युतीय बस चढ्न पाउने भएका छन् । नेपालमा पेट्रोलियम अभाव भएको समयमा पेट्रोल अनुदान दिएको चीन सरकारले नेपाललाई २० वटा विद्युतीय वस अनुदानमा दिने भएपछि राजधानीवासीले राहत पाउने भएका हुन् । नेपालले थप १० त्यस्तै बस किनेर राजधानी काठमाडौंमा ३० वटा विद्युतीय बस संचालनमा ल्याउन लागिएको हो । विद्युतीय बसहरु अत्याधुनिक एवं ठूला आकारका हुनेछन् । ती बसहरु व्याट्री चार्ज गरेर संचालन गर्न सकिन्छ ।

स्थानीय विकास मन्त्रालयमार्फत चीन सरकारले नेपाललाई २० वटा विद्युतीय बस दिन लागेको महनगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिएका छन् । ती बसहरु साझा यातायातमार्फत सार्वजनिक सवारीका रुपमा उपत्यकामा प्रयोग हुने समेत उनले बताए ।
चीनले काठमाडौं महानगरपालिकालाई ती बस हस्तान्तरण गर्ने तय भैसकेको छ । सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न महानगरपालिकाको एक टोली चीन जाँदै छ ।
महानगरपालिकाले चीनसँग थप १० वटा विद्युतीय बस पनि खरिद गर्ने तयारी गरेको छ । किनिएका समेत गरी चीनबाट नेपालले ३० वटा विद्युतीय बस ल्याउनेछ ।
महानगरपालिकाले अनुदानमा प्राप्त विद्युतीय बस साझा यातायातमार्फत सञ्चालन गरिने भएको छ ।











