२९ मंसिर, काठमाडौं । मुख्य प्रतिपक्षी नेपाली काँग्रेसले भुकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण सम्बन्धी विधेयक संसद्मा पेश गर्न दिने निर्णय गरेको छ ।

पार्टीका पदाधिकारी र प्रभावशाली केन्द्रीय सदस्यहरुको मंगलबार विहान पार्टी सभापति सुशिल कोइरालाको निवासमा बसेको बैठकले विधेयक पेश गर्न दिने निर्णय गरेको हो । पुनर्निर्माण सम्बन्धी विधेयकमाथिको प्रतिवेदन संसद्मा पेश गर्न नदिँदा पार्टीको छविमाथि आँच आउने आउने ठहर गर्दै कांग्रेसले प्रतिवेदन पेश गर्न दिने निर्णय गरेको हो । काँग्रेसले प्रतिवेदनसँगै संविधान संशोधन सम्बन्धी विधेयक पनि पेश गर्नुपर्ने माग गरेको छ । प्रतिवेदन र संविधान संशोधन सम्बन्धी विधेयकलाई कार्यसूचीमा राखिए आफूलाई मान्य हुने कांग्रेसले बताएको छ ।
पुनर्निमाण सम्बन्धी विधेयकमाथिको प्रतिवेदन पारित भएपछि संविधान संशोधन सम्बन्धी विधेयक पेश गर्ने बेलामा मधेशकेन्द्रित दलहरुले विरोध गरे सामना लागि आफू तयार रहेको काँग्रेसको भनाइ छ । बैठकपछि प्रमुख सचेतक चीनकाजी श्रेष्ठ र केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले संविधान संशोधन सम्बन्धी विधेयक रोक्नुपर्ने कुनै कारण नरहेको भन्दै पेश गर्न दिने निर्णय गरिएको जानकारी दिए । मधेशवादी दलहरुले विधेयक पेश गर्न नदिएको खण्डमा यस विषयलाई छलफलबाट टुंग्याउन प्रयास गर्ने निर्णय गरेको उनीहरुले बताए ।











