२८ मंसिर, काठमाडौं । ल्हासामा सुन छ कान मेरो बुच्चै भन्ने उखान यतिवेला नेपालीहरुका लागि ठ्याक्कै मिलेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य अत्यन्त सस्तो हुँदा नेपालले भने भारतको नाकाबन्दीका कारण यो सुविधा उपभोग गर्न पाएको छैन । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य सात वर्षयताकै न्यून विन्दुमा पुग्दा नेपालीले भने इतिहासमै उच्च मूल्यमा कालोबजारीमार्फत पेट्रोलियम किनिरहेका छन् ।
अन्तर्राष्ट्रिय ऊर्जा नियोग आईईएका अनुसार कच्चा तेलको मूल्य प्रतिब्यारेल ३९ डलरमा झरेको छ । यो मूल्य अघिल्लो जुनमा १ सय ५ डलरसम्म पुगेको थियो । एक वर्षयता तेलको मूल्यमा भारी गिरावट आइसके पनि नेपाली उपभोक्ताले भने त्यसको उपभोग गर्न पाएका छैनन् ।
महाभूकम्पयता नेपाल आयल नियमले स्वचालित मूल्य प्रणालीअन्तर्गत तेल मूल्य समायोजन गरेको छैन । चार महिनायता नाकाबन्दीका कारण आपूर्ति सहज नहुँदा उपभोक्ताले तेल नपाएर अझ महँगो मूल्यमा कालोबजारीमा किन्नु परिरहेको छ ।
आईईएले तेलको माग घट्ने अनुमान गरेसँगै अन्तर्राष्ट्रिय मूल्य घट्न थालेको केही समाचार संस्थाले जनाएका छन् । केहीले भने अमेरिका र रुसको इन्धनमाथिको शीतयुद्धले तेल मूल्य घटेको जनाएका छन् । रुसले ग्यास र इन्धनको मूल्य घटाउँदै आपूर्ति बढाएपछि इन्धन उत्पादक मध्यपूर्वी एसियाको पनि मूल्य घटाइएको दाबी गरिएको छ । यो मूल्य अझ घटेर २० डलरमा झर्ने अनुमान समाचार एजेन्सीहरुले गरेका छन् ।
आईईएका अनुसार अघिल्लो त्रैमासिकमा तेलको माग दैनिक २ दशमलव २ मिलियन ब्यारेलबाट घटेर १ दशमलव ३ मिलियनमा झरेको छ । आईईएले आगामी वर्ष प्रतिदिन १ दशमलव २ मिलियन ब्यारेलले तेलको मूल्य घट्ने अनुमान गरेको थियो । एक सातायता तेलको मूल्य १० प्रतिशतले घटिसकेको छ ।
एक वर्षयता अन्तर्राष्ट्रिय बजारमा ६४ प्रतिशतले मूल्य घटिसकेको छ । अन्तर्राष्ट्रिय बजारसँग मूल्य समायोजन नगरेकै कारण आयल निगमले गत आर्थिक वर्ष १८ अर्ब रुपैयाँ नाफा आर्जन गरेको थियो ।














