२७ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारत पठाउन तयारी हालतमा राखिएको डाबर नेपालको उत्पादनहरुलाई नियन्त्रणमा लिएर छानविन थालेको छ । केन्द्रबाट आएको अख्तियारको टोलीले आइतबार बिहान वीरगन्जको सिर्सियास्थित सुख्खा बन्दरगाहमा डाबरको ७७ कन्टेनर सामान नियन्त्रणमा लिएर छानविन थालेको हो ।
अख्तियारको टोलीले ति कन्टेनर खोलेर चेकजाँच थालेको छ । अख्तियारका डिएसपी हिमालय श्रेष्ठले निर्यात गर्न लागिएको सामग्रीको गुणस्तर र म्याद लगायतका विषयमा सूचना आएपछि छानविन थालिएको बताए । अख्तियारको अर्को टोली बारा रामपुर टोकानीमा रहेको डाबर नेपालको उद्योगमा पनि पुगेको छ ।
भन्सार प्रमुख देवीप्रसाद भण्डारीले डाबरले ९० कन्टेनर सामान निर्यात गर्ने तयारी गरेकोमा ७७ कन्टेनर सामग्री बन्दरगाहमा आइपुगेको जानकारी दिए ।
तर डाबर नेपालले भने आफ्ना सामाग्री म्याद नगुज्रेको दाबी गरेको छ । डाबर नेपालका एक कर्मचारीले भने- ‘हामीले यी सामाग्री भारत निर्यात गर्न लोड गरेका हौं । यी सबै सामाग्रीका डेट सकिएका छैनन् ।’
ती कर्मचारीले गत सेप्टेम्बरमा उत्पादन भएका जुसहरु भारत लैजान लागिएको बताए । उनका अनुसार यी जुसका अझै तीनदेखि चार महिना सेल्स लाइफ छ । उनले भने- ‘जुसको खाद्य मिति कम्तीमा ६ महिनाको हुन्छ । सेप्टेम्बरमा उत्पादन भएको यी जुसको एक्सपाइरी डेट अझै तीन महिना बाँकी छ । त्यसैले हामीले लोड गरेका हौं ।’














