२६ मंसिर, काठमाडौं । नेपालमा ग्यास ल्याउने सबै बुलेटहरु भारतीय भएको र भारतले रोकेकै कारण नेपालमा ग्यास आउन नसकेको ठहर गर्दै अब नेपाली बुलेट नै राख्ने तयारी आयल निगमले थालेको छ । नेपाल आयल निगमले ग्यास बोक्ने भारतीय बुलेटलाई विस्थापित गर्दै नेपाली बुलेट राख्न टेन्डर आह्वान गरेको हो।
भारतीय ढुवानीकर्ता हुँदा नेपाललाई प्राथमिकतामा नराख्ने र ढुवानी भाडाका लागि वार्षिक चार अर्ब विदेशिने भन्दै निगमले नेपाली बुलेट राख्न टेन्डर आह्वान गरेको हो।
‘हामीले ग्यास आपूर्ति सहज होस् भनेर नेपाली बुलेट राख्न टेन्डर आह्वान गरेका हौ,’ निगमका वितरण विभाग प्रमुख एवं प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले भने, ‘नेपाली बुलेट हुँदा ग्यास आपूर्तिमा सहजता भएर उपभोक्तालाई समेत राहत हुने विश्वास लिएका छौ।’ निगमले गरेको टेन्डरमा झन्डै एक हजार बुलेट राख्न आवेदन परेको छ।
निगमले ग्यास ढुवानीका लागि झन्डै साढे चार सय वुलेट मात्रै राख्नेछ। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले नेपाली वुलेट राख्ने प्रक्रियालाई छिटो अघि बढाउन आग्रह गरेको बताउँदै नेपाली वुलेट राख्ने वित्तिकै ढुवानी भाडाको रुपमा वार्षिक ४ अर्ब रुपैयाँ जोगिने बताए।












