२६ मंसिर, काठमाडौं । एकीकृत नेकपा माओवादीले सरकारको काम सन्तोषजनक नभएको भन्दै जनभावना अनुसार काम गर्न प्रधानमन्त्री र मन्त्रीहरुलाई सुझाव दिएको छ । एमाओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्री शक्ति वस्नेतको मनोमानीले पार्टी बद्नाम भएको भन्दै स्थायी कमिटीमा आलोचना भएको हो ।

शनिबार बिहान बसेको स्थायी समिति बैठकमा नेताहरुले सरकारको काम सन्तोषजनक नभएको भन्दै आलोचना गरेका हुन् । उनीहरुले पार्टीबाट सरकारमा सहभागी नेताहरुको कार्यशैलीप्रति पनि तीव्र असन्तुष्टी जनाएका छन् । गृहमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्प पीडितको कोटामा पार्टी नेताका छोराछोरी र आफन्तलाई चीन भ्रमणमा पठाएकोमा धेरै नेताहरुले आलोचना गरे ।
केही नेताहरुले बस्नेतलाई सरकारबाट फिर्ता बोलाउन समेत माग गरेका छन् ।
तर राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा पत्रकारहरुको प्रश्नको जवाफ दिंदै गृहमन्त्री शक्तिबहादुर वस्नेतले भूकम्प पीडितका नाममा नेताका छोराछोरीलाई चीन पठाउने सूची आफूले नबनाएको दाबी गरेका छन् ।
सचिवालयले सूची बनाएको भन्दै उनले यसबारे छानविन गर्ने र दोषीलाई कारबाही गर्ने बताए ।

भूकम्पपीडितका नाउँमा शक्ति बस्नेतले आफ्नै छोरी, पत्नीका नातेदार र प्रचण्डका नातेदारलाई गृहमन्त्रालयले शुक्रबार चीन पठाएको थियो । यसबारे उनले स्पष्ट जवाफ दिएनन् ।
तपाईका आफन्तहरु पनि सचिवालयले नै छानीछानी पठाएको हो भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले टोलीमा गएकाहरु कुनै न कुनै रुपमा भूकम्प प्रभावित वा उद्धारमा खटिएकाहरु नै भएको जिकिर गरे ।
चीन पठाइएकामा एमाले महासचिव ईश्वर पोखरेलका आफन्तहरु समेत रहेको समाचार सार्वजनिक भएको छ ।











