२५ मंसिर, काठमाडौं । सरकार, प्रतिपक्षी नेपाली कांग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच कुरा नमिलेपछि शुक्रबार डाकिएको व्यवस्थापिका संसद बैठक सूचना टाँसेर स्थगित भएको छ ।
संसदमा शुक्रबार पुनर्निर्माण प्राधिकरण विधेयक पेश गर्ने कार्यसूचि थियो । तर नेपाली कांग्रेसले संविधान संशोधन विधेयक पनि टेबुल गर्न पाउनुपर्ने अडान राख्यो भने मोर्चाले संशोधन विधेयक पेश गरे संसद चल्न नदिने अडान लियो। दुबै पक्षको अडानका कारण संसद बैठक आइतबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको हो। संसद सचिवालयले सूचना टाँस गरेर बैठक स्थगित भएको जानकारी गराएको छ । सभामुखमा ओनसरी घर्ती निर्वाचित भएपछि पहिलोपटक संसदको बैठक सूचना टाँस गरेर स्थगित भएको हो। घर्ती सभामुख भएयता मधेश केन्द्रित दलहरुको सदन बैठक अवरोध गर्दै आएका छन् भने प्रमुख प्रतिपक्षी कांग्रेसको हो–हल्लाका कारण पनि दुई पटक स्थगित भइसकेको छ ।











