२५ मंसिर, काठमाडौं । सरकार, प्रमुख प्रतिपक्षी र मधेसकेन्द्रित दलहरुका पुरानै अडानका कारण शुक्रबारको वार्ता पनि निष्फल बनेको छ । प्रधानमन्त्री केपी ओलीले डाकेको त्रिपक्षीय वार्तामा प्रमुख प्रतिपक्षी कांग्रेस जाँदै गएन । तर कांग्रेसले जोडतोडका साथ माग गरिरहेका संविधान संशोधन विधेयक अगाडि बढाउन मधेसी मोर्चाले मानेन । सरकार पनि तत्काल सिमांकन परिवर्तन गर्ने पक्षमा देखिएन । अनि, अघिल्ला वार्तामा जस्तै शुक्रबारको वार्तामा पनि कुनै परिणाम आउन सकेन ।
आफूले संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव अगाडि नबढाएसम्म संसद अवरुद्ध पारिरहने चेतावनी कांग्रेसले दिएका कारण सरकारले सोही प्रस्तावमा केही भाषिक परिवर्तन गरेर संसदमा पेश गर्ने सरकारले तयारी गरेको थियो । सोही तयारीबारे मोर्चासँग सरकारले प्रस्ताव गर्दा मोर्चाले सिधै अस्वीकार गर्यो । राजनीतिक समिति बनाएर सिमांकनको टुंगो तीन महिनामा लगाउने प्रस्ताव सरकारले गरे पनि मोर्चाका नेताहरुले यसलाई पुरै अस्वीकार गरे ।
नयाँ दिल्ली पुगेर फर्किएका मधेसी मोर्चालाई भारतको विशेष सुझाव भएको अनुमान गर्दै उनीहरु केही लचक हुने अनुमान गरिएको थियो । तर शुक्रबार समेत मोर्चाका नेताहरु लचक भएनन् र संविधान संशोधन विधेयक पेश गर्न नदिने चेतावनी दिए । अब वार्ता कहिले हुने भन्ने समेत अनिश्चित बनेको छ ।












