२३ मंसिर काठमाडौं । एकीकृत माओवादीको केन्द्रीय समिति बैठकमा वुधबार पनि अध्यक्ष प्रचण्डको राजनीतिक प्रस्तावमाथि सदस्यहरुले धारणा राख्ने क्रम जारी रह्यो । अध्यक्ष प्रचण्डले मसिर १५ गते केन्द्रीय समिति बैठकमा १७ गतेदेखि धारणा राख्ने क्रम जारी छ । हालसम्म ४२ जना सदस्यले धारणा प्रस्तुत गरेका छन् । अध्यक्ष प्रचण्डको प्रस्तावमाथि विभिन्न कोणबाट छलफल भैरहेको एमाओवादी नेता गोपाल किराँतीले जानकारी दिनुभयो । अध्यक्ष प्रचण्डको प्रस्तावलाई कतिपयले पूर्णतः ठीक भनेका छन् भने धेरैजसोले आलोचना गरेका छन् । एक सदस्य हेमराज भण्डारीले भने प्रतिवेदनमाथि फरक मत राखेका छन् । एमालेलाई अवसरवादी सुधारवादी शक्ति भनी प्रचण्डले उल्लेख गरेको प्रति भण्डारीले आपत्ति जनाउँदै एमाले प्रतिक्रियावादी शक्ति भएको बताएका छन् ।
प्रचण्डको प्रतिवेदनमा प्रमुख तीन कुराको सधार आवश्यक रहेको नेता गोपाल किराँतीले बताए । वर्गसंघर्षको कार्यदिशा आवश्यक भएको, राष्ट्रिय स्वाधिनतालाई बाह्य र आन्तरिक गरेर हेर्नुपर्ने र वर्ग विश्लेषणका आधार निर्धारण गर्नुपर्ने सुझाव किरातीले दिएका छन् ।
अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथिको छलफल अबको दुई दिनमा सकिने अनुमान गरिएको छ ।












